विचारसमाचार

युरोपमा नेपाली खेलाउने नवीन सपना

गजेन्द्र बाेहरा
गजेन्द्र बाेहरा 

युरोपमा नेपाली खेलाउने नवीन सपना

छिप्पिँदै गरेका घामका किरणहरू जालीबाट भित्र छिरेर फुटसलको हरियो भुँईमा छरिँदै थिए। 

कालो जर्सी लगाएर दौडिरहेका उनी बल हिर्काइरहेका बच्चाहरूसँगै चिच्याइरहेका थिए। 

कसैले गोल हाने उनी तालि पिटेर भन्थे ‘नाइस.. नाइस्।’

बल हिर्काइरहेका बच्चाहरूको किकमा रमाउँदै उनी भन्थे ‘गुड गुड…।’

पोस्टमा छिर्न खोज्ने बल छेक्ने बच्चाको कोसिसमा उनी आफै हौसिन्थे र ताली पिट्दै भन्थे ‘नाइस्… गुड किपर…।’

स्कटल्यान्डबाट नेपाली बालबालिकालाई फुटबल पढाउन यहाँ आएका उनी हुन् लि म्यान्सन।

युरोपियन फुटबल संघबाट बि ग्रेड प्रशिक्षक लाइसेन्स प्राप्त लिलाई काठमाडौं किकर्सले नेपाल झिकाएको हो। 

उनले कपन स्पोर्ट्स सेन्टरमा अहिले फुटबल सिकाइरहेका छन्। 

युरोप खेलाउने सपना
काठमाडौं किकर्सका अध्यक्ष हुन् नवीन पाण्डे। खेलकुद। त्यसमा पनि अझ फुटबलप्रति त अगाध प्रेम छ नवीनभित्र। यो फुटबल प्रेमले उनलाई क्षणक्षणमा चिमोटिरहेको हुन्छ। 

जीवनका अरु पाटाहरू छँदैछन्। धेरैपटक उनको मन सोचिरहन्छ– जीवनमा मैले के गरेँ?

सरसर्ती फेहरिस्तहरू नाचिदिन्छन्– यो गरेँ। त्यो गरेँ। यो भयो। त्यो भयो। 

र, झसङ्ग हुन्छन्– अहो! फुटबलका लागि चाहिँ के गरेँ?

जीवनका यस्तै झस्काइहरूले जन्माएको एउटा सपना हो–नेपाललाई युरोपमा खेलाउने। वा अरु कुनै अन्तर्राष्ट्रिय लिगहरूसम्मै पुर्‍याउने।

अनि त्यसैका लागि उनले ‘कपन स्पोर्ट्स सेन्टर’ बनाए। सरसर्ती हेर्दा यो स्पोर्ट्स सेन्टर सहरमा भएकामध्ये अलि सुविधासम्पन्न ‘फुटसल’ जस्तै लाग्छ। 

हो पनि त्यही। तर,  शोखका वा ‘फिटनेश’का लागि साँझ बिहान फुटबल हिर्काउनेहरूको मात्रै फुटसल हैन यो। 

कपन स्पोर्ट्स सेन्टर एउटा फुटबल पाठशाला पनि हो। जहाँ नवीन अनि लिहरू मिलेर युरोप ‘सपना’ हुर्काइरहेका छन्। 

र, ६ देखि १६ वर्षसम्मका बालबालिकाहरू त्यही सपना पछ्याउन ‘किक’ मारिरहेका छन्।

सन् १३००को दशकतिर फ्रान्सका मान्छे कुनै चीजलाई गोलाकार बनाएर लात्तीले हान्ने खेल खेल्थे। नेपाली गाउँघरमा मोजामा कागज कोचेर बल खेलेजस्तै। 

विस्तारै त्यो ‘गोलो चीज’ बेलायतसम्म पुग्यो र, फुटबल भयो। 

इस्ट इन्डिया कम्पनीसँगै भारतमा ब्रिटिस साम्राज्य विस्तार भयो। त्यो फुटबल भारतसम्मै आइपुग्यो। 

भारतको चीज नेपाल भित्रिन कति बेर लाग्थ्यो र!

इतिहासका पानामा नर शमशेर राणालाई नेपाली फुटबलको जन्मदाता भनेर चिनाएइको छ। 

यसबाट बुझ्न कठीन छैन, सुरुसुरुमा नेपालमा फुटबल ‘शासक’हरूको भकुन्डोमात्रै बन्यो। 

र,  विस्तारै त्यो आम नेपालीको प्रिय खेल बन्यो। 

‘फुटबल त हरेक नेपाली जन्मदै खेल्न जानेको हुन्छ। फुटबल नखेल्ने कोचाहिँ नेपाली होला र!’ नवीनलाई लाग्छ ‘हरेक नेपाली घरमा फुटबलका ‘स्ट्राइकर’ लुकेका छन्।’

घरघरमा थुनिएका यस्तै फुटबलरलाई युरोपका क्बलमा खेलाउने सपनाले जन्माएको हो काठमाडौं किकर्स अनि कपन स्पोर्ट्स केन्द्र।

यहाँ अहिले ‘फुटबल क्लिनिक’ चलिरहेको छ। यहाँ छ वर्षदेखि १६ वर्षसम्मका बालबालिका फुटबल सिक्न आउँछन्। र उनीहरूलाई फुटबल सिकाउनका लागि स्कटल्यान्डबाट प्रशिक्षक लि आइपुगेका छन्। 

बालबालिकाहरू यहाँ भकुन्डो हान्नमात्रै सिक्दैनन्। त्यो त उनीहरूले जन्मँदै सिकेका हुन्। 

‘एउटा सफल फुटबल खेलाडी हुनका लागि भकुन्डो हिर्काएरमात्रै पुग्दैन’ नवीन भन्छन् ‘त्यसका लागि के खाने? कसरी खाने? कसरी आफ्नो शरीर बनाउनेदेखि लिएर खेलाडीका लागि चाहिने संस्कार र ब्यवहार पनि हामी सिकाउँछौं।’

एउटा सभ्य र आदर्श नागरिक जन्माउनु पनि यो सेन्टरको लक्ष्य हो। 

‘अनुशासन, संस्कार, व्यवहार अनि त्यहीअनुसार आहार र शरीर भएन भने त खेलाडी नै हुन सक्दैन नि!’ नवीन भन्छन् ‘एउटा असल खेलाडी, देशको एउटा आदर्श नागरिक पनि हो।’

काठमाडौं किकर्स, कपन स्पोर्ट्स क्लब अनि नवीनहरू यस्तै खेलाडी जन्माउन खोज्दैछन्। जो अन्तर्राष्ट्रिय क्लबहरूमा खेल्न सकून्। 

प्रकाश बुढाथोकी, किरण चेम्जोङ, अभिषेक रिजाल अनि रोहित चन्दलगायत औंलामा गनेर भ्याइने केही नेपाली खेलाडीमात्रै विदेशका क्लबमा खेल्न सकेका छन्। 

नत्र फुटबलमात्रै होइन, हरेक खेल त्यस्तै हो। ‘खेलाडी बन्ने’ धुन जीवन चलाउने चक्करमै झ्यार्रझ्यार्र् गर्न थाल्छ। नेपाली खेल अनि नेपाली खेलाडीले भोगेको नियति नै यही त हो।

तर, खेलेर पनि जीवन सानसँग जिउन सकिन्छ। हरेक नेपालीको रगतमै मिसिएको यो फुटबल खेलेर पनि अन्तर्राष्ट्रिय स्तरमा पुग्न सकिन्छ।

त्यसैले नवीनहरूले लक्ष्य बोकेका छन्– दश वर्षभित्रमा कम्तीमा दुईजना नेपाली खेलाडी युरोपका क्लबहरूमा खेलाउने।

त्यसकै लागि कपन स्पोर्ट्स सेन्टरले अहिले ‘फुटबल क्लिनिक’ सुरु गरेको छ। 

यहाँ अहिले ६ देखि १६ वर्षका बालबालिकालाई फुटबल सिकाइन्छ। त्यो पनि पैसा लिएर। 

‘स्वंय सेवा अनि नि:शुल्क सिकाउने मामलामा मेरो अलि फरक धारणा छ’ नवीन भन्छन् ‘कुनै पनि कुराको मूल्य हुनुपर्छ। अनिमात्रै महत्व हुन्छ। यो फुटबल एकेडेमी एउटा व्यवसाय पनि हो। हामी पैसा लिन्छौं र त्यही स्तरमा सिकाउँछौं जसले भोलिका दिनमा युरोपियन क्लबका खेलाडीहरूसँग प्रतिष्पर्धा गर्न सकून्।’

नेपाली खेलकुद क्षेत्रमा नवीनको योगदान पनि कम्ति छैन। नेपाली खेल क्षेत्र सुधार्न उनले सकेको जति धेरै गरेका छन्। त्यसमा पनि नेपाली फूटबल क्षेत्र(एन्फा)मा भएको भ्रष्टाचारविरुद्ध त उनले अभियान नै चलाए। 

देशका लागि केही गर्नुछ भने जे पनि गर्न सकिन्छ। त्यहीमध्येको खेल पनि एक हो। र नवीनका लागि खेल क्षेत्रमै पनि फुटबलमा केही गरेर देखाउनुछ। 

विभिन्न तीन उमेर समूहमा विभाजन गरेर अहिले बालबालिकालाई साताको तीन दिन फुटबल सिकाइन्छ। बिहान र साँझको समयमा। 

त्यसका लागि काठमाडौं किकर्सले प्राविधिक सहयोग गरेको छ भने कपन स्पोर्ट्स सेन्टरसँग भौतिक संरचना छ। 

उनीहरूसँग अर्को एउटा योजना पनि छ– देशका सातै प्रदेशबाट कम्तीमा एक-एक जना खेलाडी छानेर उनीहरूलाई हुर्काउने। बढाउने र खेल्न सिकाउने। 

‘हाम्रो सपना यही हो। दश वर्षमा कम्तीमा दुईजना खेलाडी हामीले युरोपमा खेल्नसक्ने बनाइछाड्छौं’ नवीनको अठोट छ ‘आज यो एकेडेमीमा फुटबल हान्न सिकिरहेको बच्चा भोलि गएर युरोपियन लिगहरूमा खेल्न सक्नेछ। त्यसका लागि हामीसँग स्रोत छ। साधन छ। कुशल प्रशिक्षक छन्। प्लेटफर्म छ।’

खेलाडीहरूलाई व्यावसायिक प्रशिक्षण दिने काठमाडौं किकर्सले यसअघि पनि आधा दर्जन प्रशिक्षकलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षणका लागि युरोप पठाएको थियो। 

नवीन न्यौपाने, विनोद डंगोल, मानबहादुर तामाङ, सुनील लामा, महेश श्रेष्ठ अनि कपिल ढकालहरू अहिले नेपालकै विभिन्न क्लब तथा प्रतिष्ठानहरूमा फुटबल सिकाइरहेका छन्। 

नेपाली बालबालिकामा झल्किएको ‘फुटबल प्यासन’ देखेर प्रशिक्षक लि पनि दंग छन्। 

उनले आठ वर्षसम्म जापानमा फुटबल सिकाएका छन्। त्यहाँ पनि उनले सयौं बालबालिकालाई फुटबल खेल्न सिकाए। धेरै राष्ट्रिय अनि अन्तर्राष्ट्रिय खेलाडीहरू जन्माए। 

उनले नेपालमा भएका विभिन्न फुटबल प्रतियोगिताहरू पनि हेरेका छन्। त्यसमा दर्शकको प्रेम देखेका छन्। 

र यहाँका बालबालिकालाई फुटबल सिकाउन लागि लि निकै उत्साहित छन्। नेपालको यो यात्रालाई उनले जीवनको अर्को अध्याय भनेका छन्। 

नेपाली खेलाडीलाई युरोपसम्म खेलाउने ‘नवीन–सपना’का सायद उनी एक अध्याय हुन्।

‘त्यहाँका हरेक बच्चाहरू हप्ताको छ दिन नै फुटबलका लागि ट्रेनिङ गर्छन्। बिदा भएपछि पनि बच्चाहरू ग्राउन्डमा फुटबल खेल्न आउँछन्’ उनी भन्छन्, ‘त्यहाँका खेलाडी युरोपियन क्बलमा खेल्न सक्छन् भने नेपाली किन खेल्न नसक्ने? म धेरै आशावादी छु। अनि धेरै भाग्यमानी पनि। किनकि मैले नेपाली बालबालिकालाई फुटबल सिकाउन पाएको छु।’

उनले देखेका छन् नेपाली बालबालिका फुटबललाई असिम प्यार गर्छन्। उनीहरूमा जुनून् छ। 

खुट्टाले फुटबल नचाइरहेका उनीहरूको आँखामा लिले देखेका छन्– त्यसमा एउटा फुटबरको सपाट चित्र छ। 

‘यहाँका हरेक गल्ली अनि मैदानमा फुटबल हानेर हिँडिरहेका नेपाली देखेको छु। यतिधेरै नेपाली यहाँ फुटबल खेल्छन् भने युरोपियन क्बलमा किन नेपाली खेलाडी किन खेल्न नसक्ने?’ लि भन्छन्। 

र, कपन स्पोर्ट्स सेन्टरमा हुर्किरहेका यी सपना युरोपका विशाल मैदानमा बुर्कुसी मारिरहेका हुनेछन्, दश वर्षपछि।

यो aayomail मा प्रकाशित भएको लेख हो

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button