Allविचारसाहित्य

पोखराको बसाइ र जनआन्दोलन

संस्मरण

पोखराको बसाइ र जनआन्दोलन

नवराज न्यौपाने ‘मौन’

विक्रम सम्वत २०४४ साल साउन महिनामा अनन्त आशा बोकेर म पोखराको लामाचौरस्थित इन्जिनीयरिङ्ग अध्ययन संस्थान ,पश्चिमाञ्चल क्याम्पसमा सिभिल इन्जिनीयरिङ्ग विषयको छात्रको रुपमा आफ्नो दैनिकी शुरु गर्दो भएँ । त्यो बेला पोखरामा चारवटा सरकारी क्याम्पस थिए । अरु क्याम्पसरुमा पृथ्वीनारयण बहुमुखी क्याम्पस ( ५ संकाय – विज्ञान तथा प्रविधि, कानून , मानविकी ,व्यवस्थापन र शिक्षाशास्त्र )बगर  , चिकित्साशास्त्र अध्ययन संस्थान , पोखरा नर्सिङ क्याम्पस, रामघाट ,र वनविज्ञान अध्ययन संस्थान ,पोखरा क्याम्पस ,हरियोखर्क थिए । अरु क्याम्पसका विद्यार्थीहरु राजनीति कम पढाइ बढी गर्थे तर पृथ्वीनारायण क्याम्पसमा भने पढाइ कम र राजनीति बढी हुने गर्दथ्यो । त्यसैले त्यहाँका विज्ञान संकायका विद्यार्तीहरु मर्कामा परिरहेका हुन्थे ।

लामाचौर गाउँमाअवस्थित हाम्रो क्याम्पस ७० करोड ७७ लाखको लागतमा भर्खरै निर्माण भएको थियो । हामी पहिलो व्याचका विद्यार्थी थियौं । सिभिलमा दुई सेक्शन गरी ३२ जना र इलेक्ट्रिकल र मेकानिकलमा १६-१६ जना गरी जम्मा ६४ जना विद्यार्थी थियौं । पोखराका स्थानीय बाहेक हामी सबै होस्टलमा बस्थ्यौं । त्यसका अतिरिक्त एसएलसी परीक्षा उत्तीर्ण हुन नसकेकाहरुको लागि र अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकहरुको लागि छ महिने ,नौ महिने कालिगढ तालिम (ट्रेड कोर्स ) सञ्चालन गरिएको थियो ।ती सबै होस्टलमा बस्थे । सबैको मेस एउटै थियो । सबै मिलेर समिति बनाएर मेस सञ्चालन गरिएको थियो । होस्टल शुल्क मासिक १० रुपैया र खाना शुल्क मासिक ३०० रुपैया लाग्थ्यो । शिक्षाण शुल्क भने सबै क्याम्पसको एउटै थियो -मासिक एक्काइस रुपैया मात्र । क्याम्पुसमा सबै सुविधा पर्याप्त थियो । हामी बिदाको दिन कहिले बाटुलेचौर काली खोलाको किनार र कहिले सेती नहरको ड्यामसाइट युवा पार्क गएर पढ्ने गर्थ्यौ । हामी मध्ये ५-७ जना साथीहरु साहित्य र पत्रकारितामा रुचि राख्ने पनि थियौं । क्याम्पसमा भित्ते पत्रिका पनि प्रकाशित हुन्थ्यो । द्रुत सेवा (क्वीक डेलिभरी ) मार्फत पोखरा र काठमाडौंका पत्रपत्रिकाहरुमा लेख रचना र समाचार पठाउने गरिन्थ्यो ।

यसैबीच स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पनि आयो । हाम्रो क्याम्पस्ममा ६४ विद्यार्थीमध्ये ६० मत खस्यो । नेपाल विद्यार्थी संघको पक्षमा ३२ र अनेरास्ववियुको पक्षमा २८ मत आयो । चुनाव भएको केही समयमा नै नतिजा आयो । अनि हामी साथी मिलेर बेलुकी पृथ्वीनारायण क्याम्प्समा हेर्न गयौ । त्यहाँ त १६ हजार विद्यार्थी मध्ये करीव १५ हजार मत खसेको रहेछ । चुनावी मैदानमा ५ वटा प्यानल रहेछन् । मत गन्न रातभरी लाग्ने भएकोले सबै समूहले चौरमा आआफ्नो डफ्फा बनाएर नाक्स्छ गान गर्ने र मत परिणाम् सुनाउदा ताली बजाएर उफ्रने गर्दा रहेछन । केही बेर रमाइलो हेरेर हामी फर्कियौं ।

२०४५ सालमा भारतले नाकाबन्दी लगाएपछि हाम्रो पढाई छ्  महिना अवरुद्ध भयो । भारतीय दादागिरीको विरोध गर्दै हामी सबै घरमा बस्यौं ।अब नाकाबन्दीका कुरा गरौं । भारतसँगको व्यापार र पारवहनको म्याद सकिने समय र नयाँ सन्धि गर्ने वा पुरानैलाई निरन्तरता दिने भन्‍ने वार्ता नेपालका लागी सधैं पीडादायी रहने गरेको छ । नेपालमा पञ्चायती व्यवस्था विरुद्ध राजनीतिक दलहरु विभिन्‍न ढंगले लागिरहेको समय थियो । राजा विरेन्द्र भारतीय प्रधानमन्त्री राजिव गान्धी बिच  खटपट चलिरहेको थियो ।दुई देश बिचको खटपटले सम्बन्धमा तनाव बढिरहेको समयमै नेपाल–भारत पारवहन सन्धिको म्याद सकिन लागेको थियो । भारत म्याद थप्न तयार भएन । वार्ताहरु लम्बिदै गए । दुईपक्षीय वार्ताका क्रममा भएका विषयहरुलाई रेकर्ड गरिएको माइन्यूटमा भारतीय पक्षले सही गरेन । अर्कोतिर दुवै देशका व्यापारीहरु सक्रिय भए । दोहोरो कर नलाग्‍ने व्यवस्था गर्न नेपालमा रहेका भारतीय लगानीकर्ता र  व्यापारीको समूहले नेपाललाई दबाब दिन दिल्लीलाई गुहारे । ०४५ सालको नाकाबन्दीको समयमा अल इन्डिया रेडियोले नेपाल विरुद्धका प्रचार सामाग्री, नाटक, समाचार लयागत प्रसारण गरिरह्यो । अन्य मिडियाबाट पनि नेपाल विरुद्धका भ्रामक प्रचार गरिए ।  ०४५ सालको नाकाबन्दी त्यसअघिका भन्दा निकै कडा थियो । ०४५ साल चैत १० देखि नेपालको भारतसँग  जोडिएका मुख्य १० नाका र अन्य छोटी ११ वटा नाकामा भारतले आवागन ठप्प पार्‍यो। मालबाहक सवारीसाधन ठप्प भयो । नाकाबन्दीमा दुई देशका सरकारबिच सम्वाद नै ठप्प भएको थियो । १५ महिना चलेको उक्त नाकाबन्दीको पृष्ठभूमिमा नेपालले चीनबाट हतियार भित्र्याएको विषय थियो । चीनबाट नेपालले एके ४७ राईफल, एन्टी एयरक्राफ्ट बन्दुक र गोलिगठ्ठा भित्र्याएको थियो ।  त्यसबेला सुरक्षाा र परराष्ट्र नीति भारतलाई सुम्पन गरेको भारतीय प्रस्ताव नेपालले नकारेको थियो । राजा विरेन्द्र समक्ष भारतले नेपालको सुरक्षा र परराष्ट्र नीति भारतको निर्देशनमा चल्नुपर्ने प्रस्ताव थियो । राजिव गान्धी र राजा विरेन्द्र बीचको प्रोटोकलको विषयलाई लिएर मतभेद चलेको थियो । राजा विरेन्द्रले प्रधानमन्त्री मरिचमान सिंहको प्रोटोकलमा राजिव गान्धीलाई राख्‍न खोज्दा उनी रुष्ट भएका थिए । नेपाल आगमनको क्रममा सोनिया गान्धीलाई पशुपतिनाथ मन्दिरमा दर्शन गर्न नदिएको रिस राजिव गान्धी र भारतीय नेतृत्वमा थियो । राजिव गान्धीको नेपाल भ्रमणको समयमा सोनिया गान्धीलाई पशुपतिनाथको दर्शन गर्न नदिएको विषयले माहोल बिगारेको थियो ।

नाकाबन्दी खुलेपछि हामी सबै क्याम्पसमा फर्कियौ । पढाई सुचारु हुँदै थियो । यसैबीच प्रतिबन्धित सबै दलहरु (काँग्रेस ,कम्युनिष्ट ) सबै मिलेर संयुक्त रुपमा जनआन्दोलन गर्ने तयारी हुँदै थियो । पञ्चायत इतरका धेरै नेताहरु पक्राउ पर्न थाले । पृथ्वीनारायण क्याम्पसका स्ववियुका पदाधिकारीहरुलाई क्याम्पस हाताभित्रैबाट पक्राउ गरेर लगेपछि आन्दोलन झनै चर्किन थाल्यो । पत्रपत्रिकाहरुमा सेन्सरशीप लागू गरियो । पत्रपत्रीकाहरु जफत गर्न पनि थालियो । पत्रपत्रिकाहरुमा लेख तथा समाचारहरुका बीच बीचमा (सेन्सर्ड ) लेकिएको देखिन्थ्यो । कहिले पुरै लेख र सम्पादकीय सेन्सर्ड हुने गर्थ्यो । हामी क्याम्पसमा विरोध कार्यक्रम आयोजना गर्थ्यौ र राती राती क्याम्पस वरपरका गाउँघर र बजारमा पर्चा पम्प्लेट टाँस्ने गर्थ्यौं । यसैबीच हाम्रो क्याम्पसमा ल्याएको खानेपानी योजनाको मुहानमा ठुलो पहिरो गयो । त्यसपछि उक्त योजना सञ्चालनमा नाऔञ्जेल्समको लागि सेती नदीको पानी मोर्टार लगाएर ल्याइयो । चुना मिसिएको सेतो पानी पिउनको लागि भने योग्य थिएन । फिल्टर्मा राख्दा पनि फिल्तर नै जाम हुन्थ्यो । नुहाइधुवाइ गर्दा पनि चुना टल्केको हुन्थ्यो । धेरै विद्यार्थी बिरामी परे ।मा पनि टाइफाईदाको शिकार भएँ । २०४६ फागुन सात गतेबाट सर्वोच्च नेता गणेशमान सिंहको कमाण्डमा जनाअन्दोलन शुरु भयो । सबै कालेजमा पढाई ठप्प भयो । यसैबीचमा क्याम्पसले अल इण्डिया टूर कार्यक्रम अघि सार्यो । टाइफाईडबाट तङ्ग्रिदै गरेको म टूर जान सकिन र छुटेको पढाई कभर गर्न होस्टलमा नै बसें । सुरक्षाका कारण सबै स्थानमा जान नपाएपछि साथीहरु भ्रमण छोट्याएर चैत्र २६ गते राती फर्केर आइपुगे । त्यही बेला राजा बीरेन्द्रले दलहरु माथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको समाचार आयो । अनि सबै मिलेर फूटबल ग्राउण्डमा नारा जुलुश लगाएर नाचगान गरेर बस्यौं ।

अब जनआन्दोलनको कुरा गरौं । नेपालको जनआन्दोलन २०४६ नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन थियो जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात गरेको थियो। यो जनआन्दोलनमा विभिन्न राजनीतिक दलहरू बहुदलीय व्यवस्थाको पुनर्बहाली गर्न र पञ्चायती सरकारको विरुद्ध सडकमा उत्रिएका थिए। नेपाली काङ्ग्रेसले नेतृत्त्व गरेको यस आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा उत्रिएका थिए। ५० दिनसम्म चलेको यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरेका थिए। यस आन्दोलनमा सम्पूर्ण प्रजातन्त्रवादी नेपालीहरूको ठूलो समर्पण रहेको थियो।

वि.सं. २०४६ साल फागुन ७ देखि चैत्र २६ सम्म चलेको यस आन्दोलनको अन्त्य वि.सं. २०४६ चैत्र २६ गते नेपालका तत्कालीन राजा वीरेन्द्रले नेपाली काङ्ग्रेसका नेताहरूलाई सहमतिका लागि बोलाएका थिए र सोहि दिन भएको सम्झौता अनुसार निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बाहली भएको थियो। त्यो बेला हामीले जे जस्तो आशा राखेका थियौं ,त्यो अहिलेसम्म पुरा हुन नसक्नु भने दु:खको कुरा हुन आउँछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button