समाचार

कोदोको उत्पादन घट्दो,माग बढ्दो

तनहँुको पहाडी ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामिण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभ जस्तै बन्दै गएको छ । कोदो फल्ने बारी अहिले बाँझो हुदै गएको छ । म्याग्दे १ बाख्रेकी गोमा न्यौपानेले पहिला डाँडाभरि हुने कोदोखेती अहिले कहिकतै मात्र हुने गरेको बताईन् । करिब दश वर्ष अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले बिउ समेत राख्न छोडेको उनले बताए। “कोदो रोप्नै छोडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँवाट फलोस् त कोदो ?” ५३ वर्षीय न्यौपानेले भनिन् । उनका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ । काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकको भनाइ छ । व्यास ६ डुम्रेस्वाराकी ध्रुव रिमालले घरमा पनि काम गर्ने मान्छे छैनन् ।

उनको परिवारमा श्रीमान्। दुई छोरी र एक छोरा छन् । छोराछोरी पढ्न पोखरामा बस्छन् । वर्षौ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उनको घरमा पछिल्लो समय एक गेडा पनि छैन । कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उनले बताए। “कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन । कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र ”, उनले सम्झिए, “म सानो हुँदा कोदोको ढिँडो र तरकारीसँग पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो । दिनभर काम गर्न सकिन्थ्यो ।” अहिलेका युवाले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उनको भनाइ छ ।

औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघर तिर निकै कम हुँदै गएको उनको भनाई छ ।कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघर तिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न र घरेलु मदिरा उत्पादन गर्नका लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो, पिठो बनाएर खाने चलन हराउँदै गएको अर्का कृषक रामलाल श्रेष्ठको भनाइ छ । गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि शहरका होटलहरुले भने कोदोको परिकारलाई नै आकर्षणको रूपमा राख्न थालेका छन् । होटेलमा आउने पाहुनाहरूले बजारमा बेच्न राखिएको चामल भन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका म्याग्दे १ मा रहेको हाईवे रेष्टुरेन्टका सञ्चालक विनोद खनालले बताए ।

त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टेमा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । कोदोलाई खानाको रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहँुले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय तनहँुका प्रमुख अरुण पौडेलले ठुलो परिमाणमा कोदोबाट बनाइएका मदिराहरु बरामद गरेर नष्ट गर्दै आएको बताए। चिकित्सा विज्ञानले खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिने चिकित्सकहरुको भनाइ छ ।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्वहरु पाइने व्यास ३ स्थित रहेको समधान हस्पिटलका डा. राम चन्दले बताए। तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनको भनाइ छ। तनहँुको को ६ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन ६६ सय मेट्रिकटन कोदो उत्पादन हुदै आएमध्ये अहिले पाँच सय हेक्टरमा मात्र कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्र तनहँुले जनाएको छ। तनहँुको पहाडी क्षेत्रमा कोदो खेती हुदै आएपनि अहिले धेरै घटेको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए । उनले भने,‘कोदो खेती गर्न धेरै गाह्रो हुने हुनाले पनि खेती कम हुदै गएको छ । ’उनले थपे,‘कृषि यान्त्रीकरणमा प्रयोग नगरि परम्परागत खेतीले पनि कोदो खेती कम भएको छ । ’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button