विचारहेडलाईन

म किन असल सुकिलो कांग्रेस बन्न सकिनँ ?

-दीपकराज जोशी

 

मेरो हजुरबुवा पदमराज जोशी तनहुँ जिल्लाको सुदुर उत्तरपूर्वी गाउँ खाल्टेको मुखिया हुनुहुन्थ्यो । बुबा गोविन्दराज जोशी आफ्नै गाउँको विद्यालयको प्रधानाध्यापक । परिवारको स्थिति राम्रै भएकाले मलाई कहिल्यै पनि खानलाउन दुःख थिएन । बुबा प्रधानाध्यापक रहेको त्रिभुवन माध्यमिक विद्यालयमा प्रारम्भिक कक्षामा पढ्दै थिएँ ।

मुखियाको नाति अनि प्रधानाध्यापकका छोरो भएकाले मलाई गाउँ र स्कुलमा लाडप्यार राम्रै मिल्थ्यो । बुबाले नेपाली कांग्रेसमा सक्रिय राजनीति पनि गर्नुहुन्थ्यो । आफ्नै सांगठनिक क्षमता र क्रियाशीलताले उहाँले राजनीतिक हैसियत पनि कायम गरिसक्नुभएको थियो ।

सांगठनिक कुशलता र लगनशीलताबाट भयभित तत्कालीन पञ्चायती प्रशासनले ०३२ सालमा त्रिभुवन मावि मानेचौकाबाट तनहुँकै सुदुर पश्चिमी क्षेत्र शिव मावि रिसिङ र ०३६ सालमा शिव मावि रिसिङबाट उहाँलाई सरस्वती मावि विनायक, अछाममा सरुवा गर्यो । त्यसपछि बुबाले प्रधानाध्यापक र शिक्षक पदबाट राजीनामा दिई आफूलाई पूर्ण रूपमा नेपाली कांग्रेसको राजनीतिमा समर्पित गर्नुभयो ।

०४६ सालमा बहुदल आएपछि ०४८ सालमा भएको आम निर्वाचनमा बुबा माननीय सांसद अनि शिक्षामन्त्री हुनुभयो । पार्टीको केन्द्रीय राजनीतिमा पनि उहाँले आफ्नो छवि राम्रै बनाइसक्नु भएको थियो । सरकार र पार्टी दुवैमा उहाँको पहुँच र प्रभाव विस्तार भइसकेको थियो । त्यतिबेला नेपालमै आफ्नै बलीबुतामा सानोतिनो जागिर गर्थें । मलाई बुबाको पहुँच र प्रभावको प्रयोग गरेर जागिर खान मन लागेन ।

मभित्र कहिल्यै शिक्षामन्त्रीको छोरो हुँ भन्ने भाव पलाएन । मैले चाहेको भए त्यतिवेलै मालदार ठाउँमा नियुक्ति लिन सक्थेँ । मैले बुबाको पहुँच र प्रभावसँग खासै मतलब गरिनँ । मभित्र आफैं केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । त्यही हुटहुटीले मलाई अमेरिका पु¥यायो । अमेरिका जाँदा मसँग दुई सय डलर मात्र साथमा थियो । आफ्नै बलबुतामा अमेरिका गएँ ।

म आफ्नो छवि आफैँ बनाउनुपर्छ भन्ने सोच भएको व्यक्ति हुँ । अमेरिकामा इन्डियनको रेस्टुरेन्टमा जुठो थाल उठाउनेदेखि ग्यास स्टेसनसम्म काम गरियो तर, यता नेपालमा गोविन्दराज जोशीको छोराको अमेरिकामा तीन वटा ग्यास स्टेसन छ भन्दै पत्रपत्रिकाले लेख्दा यो मन नकुँडिएको भने होइन कुन नियतले लेखे कुन्नि थाहा भएन ।

तर, पनि पहिले रेस्टुरेन्टमा जुठो थाल उठाउँथें, अहिले ग्यास स्टेसनमा काम गर्दै छु भनेर प्रतिक्रिया दिन मनले मानेन । सायद त्यतिवेला मभित्र रहेको अहं वा इज्जतको डरले छेकेर पनि हुन सक्छ । मभित्र आफैँ केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । त्यही हुटहुटीले मलाई अमेरिका पुर्यायो । अमेरिका जाँदा मसँग २ सय डलर मात्र थियो । आफ्नै बलबुतामा अमेरिका गएँ ।

म आफ्नो छवि आफैँ बनाउनुपर्छ भन्ने सोच भएको व्यक्ति हुँ । बुबा शिक्षामन्त्री हुँदा छात्रवृत्ति लिएर विदेश पढ्न जान सक्थेँ तर, मैले त्यसो गर्दा साँच्चै छात्रवृत्ति पाउनुपर्नेहरू वञ्चित हुन्छन् भनेर म आफ्नै कोसिसले अमेरिका गएको हुँ र बरु अमेरिकामा भाँडा माझेर पढेँ । तर, बुबाको पदको दुरुपयोग गरौँ भन्ने लागेन । सायद मसँग नेपाली कांग्रेस बन्ने गुण थिएन त्यसैले म कांग्रेस बन्न सकिनँ ।

१७ वर्षको अमेरिकाको बसाइ पछि ग्रिनकार्ड छोडेर देशमा नै केही गर्न सकिन्छ कि भनेर फर्किएँ । जाँडरक्सी चुरोट मासु नखाने साधारण जीवन शैली भएको म यो राजनीतिक संस्कारमा घुलमिल हुनै सकिनँ । यो समाजको गरिब मानसिकतामा केही परिवर्तन गर्न सकिन्छ कि भनेर आज पनि म सम्भव भएसम्म पब्लिक बस र आवश्यक पर्दा स्कुटर चढ्छु । मलाई आशा छ, एक दिन यो देशले फड्को मार्नेछ ।

मेरो मानसपटलमा यस्ता थुप्रै घटना छन् जसलाई सोच्दा आङ नै जिरिंग हुन्छ । सायद ०४२ सालतिरको कुरा हो । पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गरेको अभियोगमा बुबा गोर्खा जेलमा हुनुहुन्थ्यो । म त्यतिवेला बाह्र÷तेह्र वर्षको थिएँ । दसैँको वेला टीका लगाउन गोरखा जेलमा जाँदा मेरा मनमा केके कुरा खेले होलान् ? खेलकुद परिषद्बाट फुटबलको कोचले फुटबल सिकाउन जाँदा म आफू नेपाली कांग्रेसको छोरो भएकै कारणले सिक्न नपाउँदा मभित्र कस्तो कुण्ठाले वास गर्यो होला ?

एक घण्टा तीस मिनेटसम्म बाहिरबाट अरूले सिकेको हेरेर चित्त बुझाउनुपर्दा मेरो मन कति दुख्यो होला ? कपाल पाल्ने रहर भए पनि लामो कपालमाथि जबर्जस्ती कालो टोपी भाँचेर कांग्रेस बनेर देखाउनुपर्दा मेरा आफ्ना इच्छा के भए होलान् ? दसैंमा मेरा लागि पाइन्ट र कमिज किन्न मेरो आफ्नै बुबा गइदिएको भए म कति खुसी हुन्थेँ होला ? जेलमा भएका बुबा घर फर्केर आउनुहुन्छ कि आउनुहुन्न भनेर दिन गन्ती गर्दै बसेका दिनहरू कस्ता थिए होलान् ?

सामान्य लेखपढ गर्न जान्ने आमाले हामीलाई कसरी हुर्काउनुभयो होला ? कसरी पढाउनुभयो ? हामीलाई पत्तै भएन । बिपीको सपना साकार पार्न हिँडेका मेरा बुबासँग मेरो गृहकार्य हेर्ने फुर्सद कहिल्यै भएन र पनि देश र राजनीतिप्रति उहाँले आफ्नो जिम्मेवारी निभाउनुभयो । त्यसबापत उहाँले के पाउनुभयो भन्नेतर्फ जान चाहन्नँ । मेरो मानसपटलमा अतीतदेखि वर्तमानसम्मका यस्ता थुप्रै घटना परिघटना अहिले पनि सल्बलाइरहेका छन् ।

तिनलाई सम्झँदा आज पनि आङै जिरिंग हुन्छ । कक्षा नौमा पढ्दै गर्दाको कुरा हो । नेवि संघको प्रचारप्रसारको काम गर्दा पञ्चायती व्यवस्था विरोधी गतिविधिमा लागेको आरोपमा पुलिसले पक्रेर थानामा लगी निर्ममतापूर्वक पिट्यो र पनि त्यतिवेला मभित्र झन् दृढता, उत्साह, हिम्मत अनि आत्मविश्वास बढेको अनुभूति हुन्थ्यो ।नेविसंघको प्रचारप्रसारमा सहयोग गरियो जानेर वा नजानेर ।

थानामा लगेर पुलिसको पिटाइ खाँदा बिपी कोइरालाको सपना साकार हुन्छ होला जस्तो लाग्थ्यो । तर, बीपीको सपना चाहिँ के थियो ? त्यसको खासै जानकारी थिएन । लहैलहैमा गइन्थ्यो बेग्लै कुरा । तर, नेपाली कांग्रेस, कांग्रेसका नेता एवं कार्यकर्ताप्रति असीम निष्ठा र विश्वास थियो ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मेरो मुटुको ढुकढुकी थियो ।त्यसैले मलाई लाग्छ, म सच्चा नेपाली कांग्रेस थिएँ, प्रजातन्त्रको बिहानीको प्रतीक्षामा बाँच्दै थिएँ । बीच दमौली बजारमा अरूको जस्तै हाम्रो पनि घर छ । आज ती मेरा सबै छिमेकीको घर काठमाडौंमा पनि छ अनि सबैसँग गाडी पनि छ । हामीसँग पनि त्यति नै छ, जो उनीहरूसँग छ ।

बुबा गृहमन्त्री भएकै कारण एयरपोर्टमा पुलिस राखेबापत मेरो भाग हप्ताको लाखौँ दिन्छु भन्नेहरूसँग इमान बेच्न सकिनँ तर मेरो बुबा पछिका गृहमन्त्रीका सन्तानले त्यो पैसा लिए कि लिएनन्, त्यसको खोजी कसले गर्छ ? म त सत्ता र स्वार्थको खोजमा इमान बेच्ने बाटोतिर कहिल्यै अघि सरिनँ । यसमा नै मैले गर्व गरेको छु ।

सादा जीवन, उच्च विचार र स्वाभाविक कर्तव्य एवं व्यवहारप्रति मेरो निष्ठा छ । ममा कांग्रेसप्रतिको श्रद्धा र विश्वास अझै गुमेको छैन । तर, म देश र जनतालाई बिर्सेर सत्ताको खोजमा इमान बेच्ने कांग्रेस भने बन्न सकिनँ । मलाई आशा छ, त्यो एक दिन आउनेछ र बिपीका सपना साकार हुनेछन् र भनिन्छ, यो देश सतिले सरापेको देश हो ।

यहाँ जसले राम्रो गर्छ, राम्रो सोच्छ, त्यसको कहिल्यै भलो हुँदैन, यसको अर्थ यो पनि होइन कि असल कर्म गर्न नै छोडिदिऊँ । जिन्दगी एउटा यात्रा हो । मेरा लागि यो यात्रा सहज थिएन । मैले आफैँले रोजेको बाटोमा म हिँड्दै गएँ । म खुसी छु किनकि यो खुसी मैले रोजेको खुसी हो । कसैले थमाइदिएको खुसी होइन ।

आज देशको अस्थिर राजनीतिबारे सोच्ने हो भने हाम्रो चुपचाप बस्ने परिपाटी पनि उत्तिकै दोषी छ तर, यथार्थमा म र म जस्ता परिवर्तन चाहने जमात सानो छ र नेपाली राजनीतिमा हामी अटाउन पनि सक्दनौँ । अहिले म पेसाले कलेजमा पठनपाठन गराउँछु । धेरथोर पत्रिकामा लेख पनि लेख्छु । साथै सूचना प्रविधिको क्षेत्रमा पनि काम गर्छु । खुसी पनि छु आफ्नो कर्मप्रति, कांग्रेस नबनेरै पनि ।

रातो राहदानी बेच्न नसकेर असल काङ्ग्रेस हुन सकिएन।न त सकियो बुवा गृह मन्त्री हुँदा नागरिकता बेच्न नै। एयरपोर्ट बाट सुन ओसार्न पनि सकिएन। सम्पूर्ण कुराको हिसाबकिताब चल्ने ठाउँमा बसेर आफुलाई फरक बनाउनु भनेको आफुलाई निस्कासित बनाउनु रहेछ। पुलिसको सरूवा बढुवा पनि लेनदेनको चलखेलमा गर्नेहरुका माझ निस्वार्थ भावनाले काम गर्नेहरु ओझेलमा परेपछि म कसरी असल काङ्ग्रेस हुन सक्छु? बुवा शिक्षा मन्त्री हुँदा छात्रवृत्ति बेच्न सकेको भए,बुवा जलस्रोत मन्त्री हुँदा खोला नाला बेच्न सकेको भए, रक्सी टन्न पिएर डान्स बार धाउन सकेको भए, क्यासिनोमा गएर जुवा खेल्न सकेको भए पनि असल काङ्ग्रेसमा हुनुपर्ने गुण भएको मानिन्थ्यो होला। तर म मा ति कुनै पनि गुणहरू थिएनन्, छैनन् र हुँदैनन् पनि।अनि म कसरी असल काङ्ग्रेस हुन सक्छु? यि बाहेकका अन्य गुणहरू पनि म सँग थिएन जस्तो कि भन्सारमा समातेका गाडी आफ्नो नाममा गर्न सक्ने खुबी हुनु, नाताबाद कृपाबाद गरेर ठेक्का पट्टा दिएर कमिसन खान सक्ने हुनु,सरकारी सवारीसाधनको दुरुपयोग गर्न सक्ने हुनु त्यसैले म असल काङ्ग्रेस हुन सकिनँ।आफ्नै बलबुताले केही गर्नुपर्छ भन्ने कुरामा विस्वास गर्ने मैले पद र शक्तिको दुरुपयोग गरेर न त कुनै पद लिन चाहेँ न लिए नै।अनि कुन प्रमाणपत्र पुर्याएर मलाइ असल काङ्ग्रेस हुन दिन्छन् त अवसरबादीहरुले?

त्यसैले म जिन्दगीभर काङ्ग्रेसमाथि आस्था राखेर पनि असल काङ्ग्रेस हुन सकिनँ। यसरी असल साबित हुन नसकेको काङ्ग्रेस र पटकपटक काङ्ग्रेसको छाताभित्र अटाउन नसकेको काङ्ग्रेसको छोरोसँग पनि विरासत धानिदिए हुने भन्ने इच्छा सहित तपाईं तनहुँमा आएर राजनीति गर्नु पर्यो भनेर धरैले मलाइ संदेश पठाउनु भएको छ।तनहुँमा जन्म लिन पाएकोमा म आफुलाई भाग्यमानी सम्झन्छु।म भित्र तनहुँको लागि केही गरुँ भन्ने ईच्छा सधैँ छ र रहिरहने छ। जसले मलाइ झक्झकाई रहन्छ।तर म सँग राजनीति गर्नको लागि अरु सँग भएकोजस्तो योग्यता छैन।म जे अभ्यास गर्छु त्यो  प्रचार गर्छु र जे प्रचार  गर्छु त्यो अभ्यास गर्छु।म बुवा आमा सँग बस्छु। धुम्रपान मध्यपान गर्दिनँ।माछामासु खाँदिन,जनावरबाट आएका कुनै पनि बस्तु(दूध,दही,घिउ,मह,छालाको जुत्ता,पेटी) प्रयोग गर्दिनँ।म हरेक हप्ताको मंगलबार उपवास बस्छु।सूर्य उदाउनु भन्दा अगाडी ब्रह्मुमहुर्तमा उठ्छु।हरेक दिन १ -२ घण्टा  योग/ प्राणायाम गर्छु।सूर्य अस्ताउँनु अघि खाना खान्छु।मन वचन कर्मले कसैलाई दुःख दिन्नँ।अतिसूक्ष्मवादमा( Minimalism) विश्वास गर्छु।म अरूले दिएको कपडा लगाउँछु। वातावरण मैत्री जिवनशैली बाँच्न रुचाउँछु।मैले अरुलाई परिक्षा दिन नलगाई दुई वटा विषयमा स्नातकोत्तर गरेको छु।

यस्तो जीवनशैली भएका मान्छेहरु राजनीतिमा विरलै सफल हुन्छन्।नेपाली काङ्ग्रेसमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने हरूलाई त पाखा लगाइन्छ भने हामी जस्तोलाइ ठाउँ पाउँनु र काम गर्न दिनु दिवास्वप्न नै हो।जो सँग अहिलेका नेतामा भएको अवगुण नभएकै कारणले यो पार्टीमा बसेर योगदान गर्न सकिन्छ जस्तो लाग्दैन।म राजनितिमा रहुँला नरहुँला तर तनहुँ प्रतिको मेरो दायित्व सदैव निभाउने प्रयास गर्नेछु। तनहुँ बासीले गर्नुभएको मायाको सदैव ऋणि हुनेछु। जसलाई चुकाउने भरमग्दुर प्रयास गर्नेछु।

दीपकराज जोशी
(लेखक लेक्चरर र आईटी परामर्शदाता हुन्। उनी कपिद जोशीको नामले फिक्शन पनि लेख्छन्। उनी लाइ info@dipakjoshi.com.np मा सम्पर्क गर्न सकिन्छ।)

Show More

Related Articles

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button