समाचारशुक्लगण्डकी

शुक्लागण्डकीमा प्रदेश स्तरीय क्रिक्रेट मैदान बनाईने

दमौली खबर संवाददाता

दमौली , चैत्र २८

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपतिस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट मैदान बनउने कार्य अघि बढेको छ। काम अघि बढेपछि खेलप्रेमीहरु खुसी भएका छन् । प्रदेश सरकारको यही चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुक्लागण्डकीमा प्रदेशस्तरीय क्रिकेट मैदान बनाउने निर्णय गरेको हो । त्यसका लागि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमार्फत रु ४० लाख बजेट विनियोजन भएको पत्र नगरपालिकालाई प्राप्त भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो ।

पण्डितले भन्नुभयो, “मन्त्रिपरिषद्ले निर्णय गरेबमोजिम रु ४० लाख बजेट विनियोजन भएको औपचारिक पत्र नगरपालिकालाई आएको छ, क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकारसँग साझेदारी गर्न तयार रहेका छौँ ।” नगरपालिकाले उक्त मैदानलाई नगर रङ्गशालाको अवधारणाअनुसार आर्थिक वर्ष २०८०-८१ को नगरसभाबाट रु ८० लाख बजेट विनियोजन गरेको पण्डितले बताउनुभयो । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले क्रिकेट खेलमैदान निर्माणका लागि सम्झौता गर्न आउन नगरपालिकालाई परिपत्र गरेको छ ।

आगामी वैशाख १५ गतेभित्र आर्थिक वर्ष २०८०-८१ को नगरसभाबाट रु ८० लाख विनियोजन भएको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष २०८१-८२ मा सो खेलमैदानका लागि नगरसभाबाट बजेट सुनिश्चितता गरिने प्रतिबद्धतापत्र, खेलमैदानको विस्तृत स्वीकृत लागत अनुमान, नक्साको प्रतिलिपिसहित सम्झौताका लागि आग्रह गरिएको मन्त्रालयका उपसचिव प्रकाश देवकोटाले जानकारी दिनुभयो । शुक्लागण्डकीमा प्रदेशस्तरीय क्रिकेट खेलमैदान निर्माण हुनु सकारात्मक रहेको तनहुँ क्रिकेट सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले बताउन्भयो । जिल्लामा क्रिकेट खेलतर्फ आकर्षण भए पनि पूर्वाधार नहुँदा समस्या भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जिल्लामा क्रिकेटका गतिविधि बिस्तारै बढ्दैछन्, यसतर्फ खेलाडी आकर्षित भइरहेका छन् तर मैदान नहुँदा प्रतियोगिता गर्न समस्या भइरहेको छ ।”

Show More

Related Articles

Back to top button