समाचार

. . . र पनि बाँच्‍नु त छँदैछ


चिसो सिरेटोले शरीर घोचिरहन्छ । त्योभन्दा गहिरो चिसो गडेको छ, मनमा । आङमा थोत्रो कपडा, खुट्टामा फिता चुँडिएका चप्पल । चौतारोमा बसिरहेकी पूर्णमाया मगरतिर धेरैको नजर जान्छ तर कसैले वास्ता गर्दैन । पूर्णमायाले केही दिनअघि सुकिला कपडा लगाएर गइरहेका जन्तीतिर नजर डुलाइन् र आफैँलाई नियालिन् । आङमा कपडा नफेरिएको कति वर्ष भो उनलाई थाहा छैन । पूर्णमायाको भावभंगीले अपूर्ण सपना बोल्छ, ‘मैले पनि त लाउँदी हुँ यस्तै नयाँ कपडा ।’ तर, भुइँमान्छेलाई हेर्ने र उनका कथा सुन्‍ने कसलाई पो फुर्सद छ र ?

पूर्णमाया बोल्न सक्दिनन् तर सुन्छिन् । बोल्नेले उनलाई सजिलै भनिदिन्छन्, ‘लाटी, बहुलाही, पागल्नी ।’ उनी चुपचाप सहिदिन्छिन्, नजर अर्कोतिर घुमाउँछिन् । नसहेर पनि के गर्नु रु उनी विवश बन्छिन् । बोरामा प्लास्टिक, बोत्तल लिएर पूर्णमायाको छेउ कोही आइपुग्यो । शीरमा ऊनीको टोपी, काँधमा बोरा, उस्तै मैलो लुगा, चाउरिएका गाला, खाली खुट्टा, फुटेका कुर्कुच्चा । ती पुरुषको हुलिया थियो । बोरा बिसाएर उनी पनि चौतारमा टुसुक्क बसे । खुइयय।।।सुस्केरा मारे र पूर्णमायाको अनुहारतिर हेरे । अनि दुवै मुस्कुराए । उनी पूर्णमायाकै श्रीमान् तिलक नेपाली रहेछन् । तिलकको अर्की श्रीमती पनि नजिकै रहिछन् । पूर्णमाया कान्छी, कुमारी नेपाली दोस्री । कुमारीको मानसिक अवस्था कमजोर छ । घरि टोलाइरहन्छिन् र सुक्सुकाउँछिन् घरि खित्का छाडेर हाँस्छिन् ।
तिलकले बिहान प्लास्टिक, बोत्तल उठाउन गएनन् भने कसैको मुखमा माड लाग्दैन । तिलकले १ दिन काम नगर्दा तीन जनाको पेट सारंगी बन्छ । तिलक पनि बोल्न सक्दैनन्, लेख्‍न भने सक्छन् । कापीका पान्‍नामा लेखेरै उनी कसैसँग बात मार्छन्, मनको भाव पोख्छन् । सडकमा चिल्ला गाडी गुड्छन् । नयाँ, थोत्रा, ठूला, साना गाडी गुड्छन् । सहरका अलिशान महल र धनी मान्छेहरु त्यही बाटो भएर हिँड्छन् । तर कसैको नजर ती तीन माथि पर्दैन । ती ३ को नजर परे पनि बोलेर सहयोग माग्‍न सक्दैनन् । तीन जनाकै मनको आवाज सुनेर बस्‍ने फुर्सद पनि कसैले देखाएका छैनन् ।

तिलकका परिवारको दुर्दशा धेरै पहिलेदेखिकै हो । ५३ वर्षीय तिलकको जन्मघर सिन्धुली दमारचौकी हो । सानोमा विद्यालय जान नपाएका भए पनि अक्षर पढ्न र लेख्‍न उनी पोख्तै छन् । उनलाई बुबाले पढ्न लेख्‍न सिकाएका रहेछन् । धेरै सिक्न भने पाएनन् । सानै हुँदा उनको बुबा(आमाको मृत्यु भयो । उनले आफ्ना बुबाआमासँगै घरबास पनि गुमाए । टुहुरो बनेपछि गाउँ छाडे । जन्मँदै बोल्न नसक्ने उनले कोहीकसैलाई आफ्नो बह सुनाउन सकेनन् । ‘घर सिन्धुली हो, घर छाडेको कति भो थाहा छैन, तर आमाबुबा गएपछि म हिँडें,’ तिलकले कापीमा आफ्ना शब्द उतारे ।

फोहोरको थुप्रोमा भएको भेटले उनीहरुलाई सुकिलो प्रेमको बाटोमा लग्यो । उनीहरु बोल्न सक्थेनन् तर मनको आवाज सुने र जीवनसाथी बने । उनी सिन्धुली छाडेर हिँडे । कहाँ कहिले पुगे उनलाई थाहा थिएन, किन कि उनी गन्तव्यविहीन जस्तै बनेका थिए । हिँड्दा हिँड्दै उनी तनहुँ आइपुगे । तनहुँ शुक्लागण्डकीमै बस्‍न लागेको १ दशकभन्दा बढी भएको स्थानीय बताउँछन् । ‘यी तीन जनालाई यता देखेको त १०/१२ वर्ष नै भयो, कहिले कता कहिले कता बसेका छन्,’ शुक्लागण्डकी ७ का समीर ढकालले भने , १ दिन मन र भावना मिल्ने अवश्य भेटिन्छन् भने झैं गरी तिलकले कुमारी र पूर्णमायालाई भेटे । ती तीनको भेट कहिले भयो ? कसरी भयो ? तिलक हातले सेतीतिर देखाउँदै फोहोर उठाउने ठाउँमा भएको बताउँछन् । फोहोर उठाउने ठाउँमा भएको उनीहरुको भेट मायामा परिणत बन्यो । तीन जनाले नै फोहोर उठाउँछन् । फोहोरको थुप्रोमा भएको भेटले उनीहरुबीच सुकिलो प्रेम बसाल्यो । ती ३ जना विवाह नगरे पनि एकअर्कालाई आफ्ना जीवनसाथी बताउँछन् । उनीहरुको सम्बन्ध सिन्दूरले होइन, माया र भावनाले जोडिएको हो, अडिएको छ ।

मनको जग त अडाए, तर उनीहरुलाई एउटा छानो चाहिएको थियो । जहाँ ती तीन ढुक्कसँग निदाउन सक्थे, बात गर्न सक्थे । उनीहरुको स्थायी घर बनाउन सक्ने तागत थिएन, छैन । तनहुँमा कहिले शुक्लागण्डकी, कहिले म्याग्दे त कहिले दमौली उनीहरु यत्रतत्र हिँड्थे । सडकपेटी ती तीनको आवास थियो । शुक्लागण्डकीमा धेरै वर्ष कटाइसकेका ती दम्पत्ती स्थानीयबाट लखेटिन्थे ।

फोहोर धेरै उठाउने र बस्तीमा फोहोर गरेको भन्दै तिलकका परिवार पटकपटक खेदिए । सुरुमा दुलेगौंडाको अपांगगृहमा बसेका उनीहरुलाई त्यहाँका स्थानीयले लखेटेको स्थानीय पसल सञ्चालक पूजा विश्वकर्मा बताउँछिन् । ‘यिनीहरुलाई धेरै भयो यहाँ देखेको पहिला दुलेगौंडाबाट लखेटेका हुन्, अनि मिलडाँडामा बस्दा पनि लखेटे, अहिले झरौटामा बस्छन्,’ विश्वकर्माले भनिन् ।दुलेगौंडा, मिलडाँडाबाट लखेटिएका तिलकको परिवारका लागि स्थानीयले सानो घर बनाइदिएका छन् । अरुले त्यस घरलाई झुप्रो, कवाडी ठाउँ, टहरा जे भने पनि तिलकका लागि त्यो घर महल जस्तै लाग्छ । ओत नपाउँदा कति बर्खा भिजेको उनको शरीरले ओत पाउँदा उनमा लाग्ने हर्ष कति होला अनुमान लगाउन गाह्रो छैन । तर त्यही घर पनि बतासले बिगारिदिन्छ । बतासले उडाएको घरलाई जोड्न र सम्हाल्नमा उनको बर्खा बित्छ । अहिले ठिहीमा केही बतासको समस्या नभए पनि त्यस घरमा चिसोको समस्या उनको परिवारले खेपेको छ । तपतप चुहिने शीतले भिज्ने उनको बुढ्यौली आँतलाई कति चर्कायो उनीहरु भन्‍न सक्दैनन्, देखाउन सक्दैनन् ।

दाँतविहीन गिँजामा देखिने कुमारी नेपालीको मुस्कान पछाडि लुकेको पीडा ठूलो छ । मातृपीडालाई उनका हाँसोले छेकेका छन्, जसलाई केवल उनका पति र पूर्र्णमायाले मात्र बुझेका छन् । कुमारी नेपाली आफ्नो हातको पारा लगाउँदै कोखमा बच्चा राखेको देखाउँछिन् । बच्चालाई कसैले खोसेर लगेको र उनी रोएको इशारा गर्छिन् । पूर्णमाया भने दिदीलाई शान्त हुन संंकेत गर्छिन् । तिलकले आफ्नो चेहरामा गम्भीरता ल्याउँदै त्यस घटनालाई कापीमा उतार्छन् ।

अहिले उनीहरु बसेको घरसमेत खतरामा छ । केही समयपछि उनीहरुले त्यस स्थान छाड्‍नुपर्ने निश्चित छ । मुग्लिन(पोखरा सडक निर्माणका क्रममा उनीहरु बसेको घरको जग्गा पनि बाटोमै जानेछ ।
तिलकले आफ्नी जेठी श्रीमतीको तर्फबाट १ छोरी जन्माएका रहेछन् । ‘नवीना छोरी थिई, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जन्मेकी,’ उनले कापीमा लेखे, ‘एउटा मोटो डाक्टर र आमाले लगेको छन्, ५०० रुपैयाँ छाडेर ।’ तीन वर्षकी शिशु नवीनालाई खोसेर लगेको दिन कुमारी मूर्छित परेकी रहिछन् । आफ्नो हातले टाउको पछिल्लो भागमा कसैले हिर्काएको संकेत गर्छिन्, आँखाबाट आँसु चुहाएको संकेत गर्छिन् । उनलाई कसैले ठगेको रहेछ, मातृत्वसमेत अनुभव गर्न नपाउने गरी ।

पूर्णमाया कोही पुरुष देख्‍नेबित्तिकै लखेट्न खोज्छिन् । झस्किरहन्छिन् । तिलककी जेठी श्रीमतीले खेपे जत्तिकै पीडा पूर्णमायाले खेपेकी छन् । शारीरिक रुपले कमजोर जो बोल्न सक्दिनन्, उनको शोषण भएको तिलक बताउँछन् । ‘धेरैपटक चोर आए, यसलाई समाउँछन्, अनेक गर्छन् । तीन दिनसम्म दिसा गर्न पनि नसक्ने भएकी थिई,’ तिलक बताउँछन् । उनले यसबारे इलाका प्रहरी कार्यालय बेलचौतारामा खबर गरेको बताउँछन् । प्रहरीलाई खबर गर्नुभएन ?भन्‍ने प्रश्नमा उनले लेखे, ‘इलाका प्रहरी कार्यालय बेलचौतारा फोन…’ उनलाई प्रहरीको नम्बर याद छ । खररै कपीमा लेखिहाल्छन् । तर फोन गरे पनि बोल्न नसक्ने हुँदा उनको सन्देश पुग्‍न सक्दैन ।

घरमा अहिले मुसा लागेर हैरान बनाएको तिलक बताउँछन् । ‘घरमा मुसा लागेका छन्, प्वाल बनाएका छन्, कपडा खाएका छन्,’ तिलकले लेखे । आफूले ढुंगा माटोको दरिलो घर बनाउन चाहेको उनले बताए । अहिले उनीहरु बसेको घरसमेत खतरामा छ । केही समयपछि उनीहरुले त्यस स्थान छाड्नुपर्ने निश्चित छ । मुग्लिन(पोखरा सडक निर्माणका क्रममा उनीहरु बसेको घरको जग्गा पनि बाटोमै जानेछ । उनीहरु पुनः छतविहीन हुने अवस्था नजिकिँदो छ । घर भत्किनुअघि नै उनीहरुका मुटुका भित्ताभित्ता चर्किएका छन्, भत्किएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button