Allफिचरविचारसमाचार

मुर्ख उत्पादन गर्ने कारखाना

दीपक राज जोशी

राजनीतिज्ञहरू किन भ्रष्ट, असक्षम र झुटा हुन्छन्? किनकि भ्रष्ट, असक्षम र झुटा हुन सजिलो छ। जनताले उनीहरूलाई भ्रष्ट, असक्षम र झुटा बन्न अनुमति दिएका छन् र यी सबै चिजहरू निःशुल्क पनि त छन्।

अल्बर्ट आइन्स्टिनले एकपटक भनेका थिए, ‘मात्र केवल दुई चिज असीम छन्, ब्रह्माण्ड र मानव मूर्खता। म ब्रह्माण्डका बारेमा म निश्चित छैन !’

के तपाईंलाई थाहा छ कतिपय चुनिएका सांसद र राजनीतिक नेता कानुनी मुद्दा खेपिरहेका छन्?

पक्कै थाहा छैन। हुन त आफूले भोट दिएर जिताएका सांसद तथा नेताप्रति अविश्वास गर्ने कुरा पनि त भएन। तर, कोही भष्टाचारमा फस्नु, कोही फौजदारी अपराधमा मुछिनु, कोही अपहरण तथा कमाउधन्दामा सहभागी हुनु त नेताहरूको चरित्र जस्तै भइसक्यो।

  • कानुन बनाउनेहरू नै कानुनको नजरमा अपराधी भएपछि उनीहरूबाट समाजले के आशा गर्ने? 
  • स्कुले शिक्षा पनि पूरा नगर्ने नेताहरू प्रशस्तै छन् नेपालमा उनीहरूले देशका लागि के नै दिन सक्षम होलान् र?
  • जुन व्यक्तिले आफैंलाई नियन्त्रणमा राख्न सक्दैन उसले समाजलाई कसरी नियन्त्रण गर्न सक्छ? आफ्ना बारेमा सोच्न नसक्नेले, परिवार, समाजको बारेमा सही मार्गनिर्देशन कसरी गर्ला?

वर्तमान राजनीतिज्ञलाई शासन गर्ने शैली नै थाहा भएन। उनीहरू स्वार्थ, घृणा, लालच, वासना, ईष्या, लोलुपता र नशाले भरिपूर्ण छन्। सबैले एउटा प्रश्न गर्छन्। राजनीतिज्ञहरू किन भ्रष्ट, असक्षम र झुटा हुन्छन्? किनकि भ्रष्ट, असक्षम र झुटा हुन सजिलो छ। जनताले उनीहरूलाई भ्रष्ट, असक्षम र झुटा बन्न अनुमति दिएका छन् र यी सबै चिजहरू निःशुल्क पनि त छन्।

250 x 250 Sano_Pasal

उनीहरूले गर्ने काममा कुनै प्रतिबन्ध छैन किनकि उनीहरूसँग शक्ति छ। अपराधका लागि सबैभन्दा ठूलो प्रोत्साहन राजनीति हो, विशेष रूपले एक सर्वशक्तिमान सरकारका साथमा। खास गरेर राजनीतिक दल आफ्ना विशेष व्यक्तिगत हितलाई पूरा गर्न सत्ताका लागि होमिन्छन्, सामान्य जनताको हितका लागि होइन। आखिर यस देशमा पार्टी (कम्पनी) मतदाताहरू (उपभोक्ताहरू) र मत (मूल्य) भएको छ।

नेपालमा लगभग सबै राजनीतिक दल छद्मभेषी बुद्धिजीवीहरूद्वारा सञ्चालित छन्। जुन देशमा दृष्टिविहीनले शासन गर्छन् त्यस देशका जनताको नाश हुन्छ। राजनीतिक पार्टीको र सामाजिक नैतिकता एक अज्ञात दिशातर्फ मोडिरहेको छ धोखेबाज, चोर, अनपढ, पासपोर्ट बेच्ने, तस्कर सिकारीहरू तथा सराबीहरूले नेपाली राजनीतिक स्पेक्ट्रमलाई बन्धक बनाएका छन्।

यहाँ राजनीतिक दलहरू भ्रमात्मक श्रेष्ठताद्वारा जकडिएका जटिल मानिसद्वारा सञ्चालित छन्। यिनीहरू अयोग्य व्यक्तिहरू हुन् जसले आफ्नै क्षमतालाई बढावा दिएर समाजलाई विस्तारै तल झार्दै छन्। देशलाई सही बाटो देखाउन इमानदार, मेहनती, दूरदृष्टि भएको मान्छेलाई राजनीतिक मानचित्रमा कुनै हिस्सेदारी छैन। यस्ता मान्छेका लागि केवल दुईवटा विकल्प मात्र छन् मर वा सहेर बस। यी राजनीतिज्ञले यस्तो खेल खेल्ने कोसिस गरिरहेका छन् जुन खेलका बारेमा उनीहरूलाई खासै जानकारी छैन। थाहा नहुनु ठूलो कुरा होइन तर उनीहरूले कहिल्यै सिक्न कोसिस गरेनन् र आफूलाई सबैभन्दा जानकार सम्झिए।

स्वतन्त्रता र लोकतन्त्र वैचारिक कर्तव्य मात्र होइन तर के गर्ने आजकल चुनाव हारेको नेतालाई जिताउन, चुनाव जितेको मान्छेले आफ्नो पद त्याग्नुपर्ने। यो कस्तो लोकतान्त्रिक अभ्यास हो?   के जनताको भोटको कुनै मूल्य छैन? चुनाव नेपाली लोकतन्त्रका लागि एउटा जाल भएको छ जसमा हरेकचोटी चर्को भाषणका आडमा नेपाली जनताहरू जालभित्र पर्छन्।

हामीले पटकपटक त्यस्तालाई (मूर्खलाई) चुनाव जिताएर पठाउँछौं जुन हामीहरूसँग (उनीहरू) मिल्दाजुल्दा हुन्छन्। हामीले मूर्खहरूलाई रोजेका हुन्छौं किनभने हामीलाई उनीहरूको बोली मिठो लाग्छ। हामीहरू बेवकुफहरूलाई भोट दिन्छौं त्यसैले उनीहरू परिवर्तनको ग्यारेन्टी दिन सक्दैनन्, परिवर्तन गर्न असमर्थ हुन्छन्। मूर्ख त्यो हो जसले सत्य जान्दछ, सत्य देख्छ, तर अझै झूटमा विश्वास गर्छ। महाभारतमा अन्धो धृतराष्ट्रले निकम्मा छोरालाई चुने जस्तै कलीयुगमा आँखा देख्ने नेपाली जनताले मुर्ख नेताका लागि बलिदान दिँदै आइरहेका छन्।

हाम्रो समाज यस्तो कारखाना हो जसले मूर्खहरू उत्पादन गरिरहेको छ। प्रतिनिधिसभा एउटा समाजलाई कसरी अगाडि लाने भन्नका लागि विचार मन्थन गर्ने थलो हो। त्यहाँ एक त हामीले नराम्रा मान्छे चुनेर पठाउँछौं दोस्रो समानुपातिकका नाममा तिनै नराम्रा मान्छेले छानेका तिनीहरूभन्दा पनि खराब आफन्तलाई लगिन्छ। जबर्जस्ती जिताएका हुन् या समानुपातिका हुन् जो शारीरिक, मानसिक र भावनात्मक रूपमा अस्वस्थ छन् उनीहरूबाट कै नै आशा गर्न सकिन्छ।

नेतृत्व गर्नेहरूको बुद्धिमत्ता, तर्क र समस्या समाधान गर्ने क्षमता मापन गर्ने हो भने धरैजसो ७० भन्दा कम अंक प्राप्त गर्नेहरू छन्। जसको अर्थ हुन्छ उनीहरूसँग कुनै न कुनै प्रकारको मानसिक मन्दता, बौद्धिक अक्षमता, संज्ञानात्मक कमजोरी, विकासात्मक अपांगता र अशक्तताको कारणले गर्दा उनीहरूसँग समस्या समाधान गर्ने क्षमता हुँदैन। एक बुद्धिमान उम्मेदवारलाई राजनीतिक क्षेत्रमा सफल हुनका लागि मुर्ख बन्ने नाटक गर्न वाध्य बनाइन्छ। हुन त सबै नेताहरू मुर्ख हुँदैनन्, तर जसको राम्रो विचार छ उसको कुरा हाम्रो समाजमा कसैले सुन्न चाहँदैन। लोकतन्त्रमा देशका जनताहरू पनि नेतासरह हुनुपर्ने हो तर यहाँ आफ्नो व्यक्तिगत स्वार्थका लागि नेताले जे भन्छन् हामी त्यसका पछाडि लागिरहेका हुन्छौं।

हरेक मूर्ख हमेसा आफ्नो प्रशंसा गर्न एक अर्को ठूलो मूर्खको खोजीमा हुन्छ। त्यतिमात्र होइन केही समयपछि, उनीहरू एकले अर्काका बारेमा घमण्ड र बढाइचढाइ गर्न थाल्छन्। हाम्रो समाजमा घटिरहेका घटनाले यो प्रस्ट पार्छ।

हाम्रो समाजमा राजनीतिक इमानदारिता विस्तारै हराउँदै गएको छ यहाँ सबै राजनीतिज्ञहरू संज्ञानात्मक पूर्वाग्रहअनुसार आफ्नो निष्कर्ष निकाल्न विवश छन्। नेपालमा जे भइरहेको छ, त्यो बर्षौंदेखिको खराब राजनीतिक अभ्यासको परिणाम हो। देशका लागि लोकतन्त्रको मूल्यका बारेमा भन्दा असमानता, भ्रष्टाचार, दमन र असक्षमताका विषयमा धेरैभन्दा धेरै बहसको आवश्यकता छ। लोकतन्त्र हाम्रा लागि महँगो भइरहेको छ।

हामी सधैं मूर्ख विचारका आधारमा चलेको राजनीतिबाट पीडित छौं। जुन नाटक मञ्चन भइरहेको छ त्यो राजनीतिक अद्वैतवादका आधारमा छ। अद्वैतवादले अतिवादतिर लैजान्छ यो प्रायः कट्टरवादको परिणाम हो। नेपालमा राजनीतिक परिदृश्यका लागि षड्यन्त्र कुनै नयाँ कुरा होइन। नेपालमा प्रायः सबै राजनीतिक दलहरू राम्रा मान्छेभन्दा हाम्रा मान्छेलाई अगाडि बढाउन मद्दत गर्छन्। राम्रा मान्छे सजिलै पन्छाइन्छ। यहाँ राम्रा मान्छेले कहिल्यै समाजका लागि केही गर्नेका लागि ठाउँ भेट्दैनन्। यहाँ जसको खाँचो छ त्यो अगाडि देखिए पनि धेरै समयसम्म टिक्न सक्दैन।

राजनीति एउटा रचनात्मक सम्झौता हो, यो फोहोरी खेल होइन तर हाम्रो समाजमा रचनात्मक दिशातिर राजनीति कहिल्यै उन्मुख भएन। अपराध समाजका लागि जति खतरनाक हुन्छ त्यसभन्दा बढी खतरनाक खराब राजनीतिज्ञ हुन्छ। चाणक्यको नीतिमा एउटा श्लोक छ। ‘लोकयात्रा भयं लज्जा दाक्षिण्यं त्यागशीलता। पञ्च यत्र न विद्यन्ते न कुर्यात्तत्र संगतिम्।’ यसको भावार्थ यस्तो छ। जुन स्थानमा आजीविका पाइँदैन, जुन समाजमा भय, लज्जा, उदारता र दान दिने प्रवृत्ति ‌छैन् यस्ता पाँच ठाउँ मान्छेले आफ्नो निवासको लागि रोज्नु‌हुँदैन। अब प्रश्न खडा हुन्छ, मौजुदा राजनीतिक, आर्थिक र सामाजिक परिवेशमा हाम्रो मातृभूमि निवासक लागि योग्य मान्न सकिएला त? नागरिकले प्रजातान्त्रिक निर्णय लिनु भनेको उनीहरूले प्रश्न गर्न, आलोचना गर्न, चुनौती दिन, समर्थन गर्न र आफ्नो राजनीतिक विचारलाई रक्षा गर्न सक्षम बनाउने वातावरण सृजना गर्नु हो। यदि यसो गरियो भने मात्र नागरिकको प्रतिनिधित्वलाई उत्तरदायी राख्नका लागि सक्षम हुन सकिन्छ। वर्तमान लोकतन्त्र विस्तारै विफल हुँदैछ। हामी नेपाली जनता राम्रो विचारका लागि भोट नदिएर पार्टीको विचारधारालाई भोट दिँदै आएका छौं।     

विचारधारा दिने पार्टीहरूले यहाँ देशलाई अगाडि बढाउन राम्रो विचार दिन असमर्थ भएको छ। अन्धाले अन्धालाई डोर्‍याएर कहाँसम्म लैजान सक्छ, मार्गदर्शक नै खराब भयो भने गन्तव्यमा कहाँ पुगिन्छ र? कलेज, विश्वविद्यालय नगई खासै केही पनि दृष्टिकोण नभएकाले कलेज, विश्वविद्यालय गएर दृष्टिकोण बनाएकाहरूलाई राज गर्ने देशमा नीतिनियमको कुरा गरेर हुन्छ?    हामी यस्तो समाजमा बस्छौं जहाँ राजनीतिज्ञहरू किनबेच गर्नमा नै व्यस्त छन्। पैसाले किन्न सकिने सबैभन्दा उत्तम लोकतन्त्र नेपालमा छ भन्दा फरक नपर्ला। हाम्रो देशको लोकतन्त्रले अब विस्तारै जनताको प्रतिनिधित्व गर्न छोडेको छ। नेपालका राजनीतिज्ञलाई सत्ता र राजनीति अब सेवा गर्ने माध्यम होइन धन्दा गर्ने माध्यम बनेको छ। नेपालका राजनीतिक पार्टीहरू बेइमानी काम पनि इमानदारीको साथ गर्ने संस्था बनेका छन्।

एउटा ठूलो प्रश्न यहाँ छ, के तपाईंले आफूलाई मुर्ख हुँ भनेर विश्वास गर्नुहुन्छ?
तपाईं बसेको समाज मुर्ख उत्पादन गर्ने समाजको रूपमा विकसित भइरहेको छ। गतल मान्छेलाई पटक पटक भोट दिएर जिताउनु, उनीहरूले समाजका लागी केही नगर्नु तर पनि तपाईंले सदैव गर्छन् भन्ने विश्वास गरिरहनु। उनीहरूले मनमौजी तरिकाले तपाईंमाथि शासन गरिरहन्छन् तर पनि तपाईं यसलाई भाग्यको खेल सम्झेर स्वीकार गरिरहनुहुन्छ। अब तपाईंकै क्षमतामाथि एकपटक प्रश्न किन नगर्ने? लोकतन्त्रको नाममा मुर्ख बन्ने र मुर्ख नेताको उत्पादन गर्ने सबैभन्दा खराब व्यवस्थाको रूपमा अभ्यास गरिरहेका छौं।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button