साहित्यAll

मन र माया

कविता मन र माया ( सन्दर्भ, प्रणय दिवस )
———- —————-
जब फैलिन्छ हृदयभरि
प्रेमकाे माधुर्यता
फक्रिन्छ अधरमा सयपत्री
मनमा फुल्छ लाली गुराँस
उषाकाे लाली जस्तो
उज्यालिन्छ मुहार
मायाको सुकाेमल स्पर्शले
झंकृत हुन्छन् तरङ्गहरु
शिर देखि पाउ सम्म !
मायाले भिजे पछि,
सुकुमार हुन्छ,
सुकाेमल हुन्छ हृदय
झरी पछिको अाकाश झैं
स्वच्छ र सुन्दर हुन्छ मन
सप्तरंगी इन्द्रेणी झैं
रंगिन बन्छ कल्पना पनि
मायालुकाे एक शब्दले नै
बदलिन्छ मन पलभर मै
अाेइलाउँछ क्षणमै
फक्रिन्छ क्षणमै
मायाको लहर
मनको याे किनार ,
त्यो किनार भएर
लहरिन्छ लहर बनेर
मनभित्र मायाकाे सागर
पलपल उर्लिन्छ छाल बनेर
मायाले,
कहिले भत्काउन खाेज्छ मन
कहिले सम्हाल्न खाेज्छ मन
क्षणमै अाँसु बनेर
तप तप खस्छ माया
क्षणमै मुस्कान बनेर
मुसुक्क मुस्कुराउँछ माया
कसरी बुझ्नु खै !
मन र मायाकाे
याे अनाैठाे सम्बन्ध !
———-
वेद कुमारी न्याैपाने
हाल अमेरिका

Show More

Related Articles

Back to top button