हेडलाईनसमाचारAll

बढी भाडा उठाएर यात्रु ठग्ने ३४ सवारी चालक कारबाहीमा

दमौली खबर संवाददाता

तनहुँ, वैशाख ९

विभिन्न वाहाना बनाई यात्रुबाट तोकिएभन्दा बढी भाडा लिनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले समातेर कारबाही गरिरहेको छ ।

विशेष गरेर चाडपर्वको समयमा निगरानी गर्ने गरिएकोमा तनहुँ ट्राफिक भने नियमित रुपमा चेकजाँच गरेर बढी भाडा लिएको रकम फिर्ता गराउनुका साथै जरिवाना गरिरहेको छ । तनहुँ ट्राफिक प्रहरीले आईतबार राती चेकजाँच गर्ने क्रममा बढी भाडा लिएको फेला पारेको छ । काठमाडौंबाट पोखराजाँदै गरेको बा २ ख २२२५ नम्बरको माईक्रोबसलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो ।

काठमाडौंबाट दमौलीमा जाने दुई यात्रुलाई पोखरा सम्मकै भाडा लिएको पाईएको पौडेलले जानकारी दिनुभयो । रु६५० भाडा लिनु पर्नेमा रु७५० भाडा लिएकोले एक हजार जरिवाना गर्नुका साथै क्षमता भन्दा पनि बढी याात्रु बोकेकोले थप एक हजार गरी दुई हजार रुपियाँ जरिवाना गरिएको पौडेलले जानकारी दिनुभयो । यात्रु नठगिउन् भने विशेष टोली परिचालन गरिएको र हाल सम्म ३४ सवारी चालकलाई कारबाही गरी उनिहरुबाट ३४ हजार रुपियाँ जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।

सार्वजनिक सवारीसाधनले यात्रुबाट चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि चेकजाँचलाई कडाई गरिएको ट्राफिक प्रहरी प्रमुख पौडेल बताउनुहुन्छ । बढी भाडा लिने सवारीको नम्बर ट्राफिक र प्रहरीको टोल फ्रि नम्बर १०३ र १०० वा ९८५६०९०७९९मा टिपाएमा ती सवारीलाई कारबाही हुने पौडेलले बताउनुभयो ।

Show More

Related Articles

Back to top button