हेडलाईनविचार

तनहूँका प्रजिअ लाई खुलापत्र

रविन पौडेल
दमौली

श्रीमान् प्रमुख जिल्ला अधिकारी एवं संयोजक जिल्ला विपद व्यवस्थापन समिति तथा कोभिड १९ संग सम्बन्धित तनहूँ जिल्ला क्राइसिस म्यानेजमेण्ट सेण्टर

सामाजिक दुरी कायम राख्न तथा सुरक्षा सर्तकताका लागि प्रत्यक्ष भेटेर नभएर सामाजिक सञ्जाल मार्फत् कोभिड १९ महामारी बारे यस जिल्लाका केही सवालमा यहाँको ध्यानाकर्षण तथा जवाफदेहिता माग गरेका छौँ ।
१. आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा रहनुभएका नागरिकहरुलाई एक जनामा पोजिटिभ देखिइसकेको अवस्थामा अन्तिम रिपोर्ट आउनु अगाडि घर पठाउनु ठिक वा वेठिक के थियो ? देशभर आरडिटि परिक्षणका कारण समस्या आएका घटना देखिरहेको सन्दर्भमा आरडिटि परिक्षण गरी पठाउने निर्णय कसरी र किन भयो ? सो क्वारेन्टिनबाट घर जानुभए पछि पोजिटिभ देखिनुभएकाहरुको पहिचान त भयो होला तर उहाँहरु संग सम्पर्कमा आउनुभएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ भयो वा भएन ? भएको भए सुरक्षा सर्तकताको अवस्था के छ ? साथै क्वारेन्टिनबाट घर फर्केर दुव्र्यवहार भोग्नुभएकाहरुका वारेमा के पहल भएको छ ?
२. मदर्शा स्थित क्वारेन्टिनमा रहनुभकाहरु मध्ये २ जनामा कोरोना पोजेटिभ देखिएको भनिएको छ र उहाँहरुलाई आइसोलेसनमा राखिएको बताइएको छ तर उहाँहरु संगै रहनुभएका अन्य नागरिकलाई घर पठाउनु अगाडि पुन परिक्षण गरेर घर पठाइएको कि नगरीकन ? संगै एउटै विद्यालय भवनमा रहेर एउटै शौचालय प्रयोग गरेको अवस्थामा केहीलाई पोजिटिभ देखिए पछि अन्यलाई कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पुन परिक्षण गर्नुपर्ने होइन र ?
३. शुक्लाको क्वारेन्टिनबाट पनि एक जना नतिजा आउनुपुर्व घर जानुभएको सुन्नमा आएको छ, सत्यता के हो र यो सत्य हो भने कन्ट्रयाक्ट ट्रेसिङ भएको छ कि छैन ?
४. घिरिङमा व्यवस्था गरिएको क्वारेन्टिनका बारेमा थुप्रै कुराहरु वाहिर आएका छन्, के कति कुरा सत्य हुन् ? क्वारेन्टिनमा सुरक्षाकर्मिको साटो स्थानिय स्वंसेवक राखिएको भनिएको छ, के यो सत्य हो ? सत्य हो भने यस्तो गर्न मिल्छ र ? क्वारेन्टिनमा रहनुहुने र आफन्तजन तथा मित्रजन बीच सामाजिक दुरी नै कायम नराखि भेटघाट भएका कुराहरु सुनिएका छन्, यो विषयमा अनुगमन भएको छ की छैन? यदि यो सत्य हो भने कन्ट्रयाक्ट ट्रेसिङका आधारमा परिक्षण गर्न ढिलाई नगरौँ भने परिक्षण नसकिंदा सम्म जोखिम क्षेत्रलाई सिल गर्न अनुरोध छ ।
५. रिसिङका पनि कतिपय क्वारेन्टिनहरुमा सुरक्षाकर्मिको उपस्थिति नभएको वताइएको छ, यो सत्य हो कि होइन ? हो भने त्यहाँ पनि सामाजिक दुरी कायम भए नभएको, क्वारेन्टिन सुरक्षित भए नभएको यथासिघ्र अनुगमन गरी समाजमा संक्रमणको जोखिम भए नभएको एकिन गर्न केही नमुना परिक्षण गर्न अनुरोध गर्दछौँँ ।
वजार क्षेत्रमा रहेका नेपाल आर्मि समेतको सुरक्षा घेरामा रहेका क्वारेन्टिनहरुमा समेत घर जान खोजेको, झगडा परेको भन्ने समाचारहरु बाहिरिएका वेला सुरक्षाकर्मिको उपस्थिति नै नभएका क्वारेन्टिनहरुको वास्तविकता के होला ? यथासिघ्र जोखिम क्षेत्र पहिचान गरी सिल गर्न माग गर्दछौँ ।
६. विदेशवाट हवाई यात्रा गरेर आउनेहरुको समेत आरडिटि मात्र परिक्षण गरेर आएको समेत पाइयो, यसो गर्दा जोखिम झन् वढ्ने देखिएको छ, कति संख्यामा विदेशबाट आउँदैछन् तीनलाई कहाँ राख्ने हो योजना बनेको छ कि छैन ?
७. क्वारेन्टिन र आइसोलेसनको अभावका समाचारहरु प्रकाशित भइरहेका छन् । धेरै समय पहिले नै आइसोलेसनको समेत व्यवस्था भएको समाचारहरु आएका थिए अहिले यति छोटो समयमा नै आइसोलसन अभाव हुनुमा पहिलेका समाचार गलत थिए कि अहिलेका ? वा तयारीमा चुक भयो ?
८. अव आइसोलेसन कक्षको प्रवन्ध गर्दा धेरै संख्यामा एकै ठाउँमा राख्न जिल्लास्तरीय आइसोलेसन कक्ष स्थापनाका लागि अनुरोध गर्दछौँ किनभने सिमित स्वास्थ्यकर्मि र स्वास्थ्यकर्मिका लागि समेत सोहि स्थानमा आवास लगायतका प्रवन्ध गर्नुपर्ने हुँदा यो निर्णय लिंदा विवेक सम्मत लिनुहुन अनुरोध छ ।
र अन्त्यमा, माथि उठाइएका विषयको सत्य तथ्यको प्रेस विज्ञप्ति मार्फत् जानकारीको अपेक्षा सहित जोखिम क्षेत्र तत्काल पहिचान गरी समयमा नै सुरक्षित हुनका लागि देशका अन्य भागमा भएका त्रुटिबाट पाठ सिक्दै वेलैमा सुरक्षा सर्तकताका सवै उपाय अवलम्बन गर्न जोडदार माग गर्दछौँ ।
सुरक्षित तनहूँको पक्षधरहरुको तर्फबाट

Show More

Related Articles

Back to top button