समाचार

घरेलु उत्पादनको बजारीकरण गर्न सरकारले वातावरण सिर्जना गर्छ ः मन्त्री गुरुङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले घरेलु उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने आजको आवश्यकता रहेकोमा जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ तथा महिला उद्यमी विकास समितिको शनिबार आयोजित २१ औं साधारणसभाको उद्घाटन गर्दै मन्त्री गुरुङले घरेलु उत्पादनको बजारीकरणका लागि सरकारले वातावरण सिर्जना गर्ने बताए ।

“घरेलु उद्योगको प्रबद्र्धनका लागि आवश्यक नीति बनाउन सरकार प्रतिबद्ध छ,” मन्त्री गुरुङले भने, “घरेलु उद्योगमा प्रयोग हुने परम्परागत सीपलाई निखार्दै लैजानुपर्छ ।” सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारले घरेलु उद्योगमैत्री नीति नियम निर्माण गरेको मन्त्री गुरुङले जानकारी दिए ।

अर्थतन्त्र बलियो बनाउन व्यवसायीको योगदान अतुलनीय रहेको चर्चा गर्दै मन्त्री गुरुङले समाजवादी अर्थतन्त्र विकासका लागि सबैको योगदान हुनुपर्नेमा जोड दिए । “घरेलु तथा साना उद्योगले समाजवादी अर्थतन्त्र विकासका लागि योगदान दिन सक्छ,” भने, “त्यसका लागि दक्ष जनशक्ति उत्पादनका लागि पनि प्रदेश सरकारले कार्यक्रम बनाएको छ ।”

मन्त्री गुरुङले मागेर वा दान दिएर मुलुक कहिल्यै पनि समृद्ध बन्न नसक्ने चर्चा गर्दै माग्ने संस्कृति अन्त्य गर्नुपर्ने बताए । “सबै उद्यमी बन्नुपर्छ, व्यवसायी बन्नुपर्छ तबमात्र मुलुक समृद्ध बन्न सक्छ,” उनले भने, “मगन्ते भएर मुलुक समृद्ध बनाउन सकिदैन ।” व्यवसायीले सरकारलाई कर छल्न नहुने र व्यवसायीले तिरेको करले नै देश बन्ने मन्त्री गुरुङको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले उद्योग व्यवसाय देश विकासको मेरुदण्ड भएको बताए । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष शोभा गुरुङले राज्यले प्रदान गर्ने सेवा सुविधा लिनका लागि व्यवसायी नै सचेत हुनुपर्नेमा जोड दिनुभयो । अर्का उपाध्यक्ष श्रीबहादुर कंडेलले घरेलु उद्योगबाट उत्पादित बस्तु बजारीकरणका लागि महासङ्घले पहल गर्दै आएको बताए ।

घरेलु महासंघमा पुन ः रत्नकुमार , महिला उद्यमीमा पुनः गौली

नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँ शाखाको अध्यक्षमा पुनः व्यवसायी रत्नकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । व्यास ४ कृष्णपुरमा शनिबार सम्पन्न २१ औं अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा बलराम घिमिरे, उपाध्यक्षमा प्रकाशचन्द्र हड्खले, महासचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा कृष्णमुरारी मिश्र चयन भएका छन् ।

कार्य समितिका सदस्यहरूमा सरस्वती श्रेष्ठ, सीता खनाल, निरू भुजेल, शान्ति कुँवर, सीता अधिकारी, हर्षमान श्रेष्ठ ‘साईराम’ , धनमाया पौडेल, सरू कुमाल, धनमाया राना तथा विष्णुकुमार श्रेष्ठ चयन भएका छन् । महासंघअन्र्तगत महिला उद्यमी समितिको अध्यक्षमा पुनः कल्पना गौली सर्वसम्मत चयन भएकी छन् । समितिको वरिष्ठ उपाध्यक्ष कृष्णकुमारी रानाभाट, उपाध्यक्ष सपना श्रेष्ठ, महासचिव सृजना कोइराला, कोशाध्यक्ष धनमाया पौडेल चयन भएका छन् ।

त्यस्तै समितिका सदस्यहरूमा जानकी थापा , कल्पना थापा, खिरमति मगर, तुलसी शाह, सर्मिला विक, बिमला श्रेष्ठ र भवि दुरा चयन भएका छन् । महासंघको केन्द्रीय प्रतिनिधिमा बमबहादुर थापा, राहिणीराज लौडारी, मछिन्द्रदेवी श्रेष्ठ र रामजी लौडारी तथा महिला उद्यमी समितितर्फबाट बसुन्धरा घर्ती, उमा श्रेष्ठ, अस्मिता खनाल र सरस्वती श्रेष्ठ केन्द्रीय प्रतिनिधि चयन भएका छन् ।

Show More

Related Articles

Back to top button