बीपी कोइरालाको ‘दोषी चस्मा’ले देख्न नसकेका दोषहरूले दोश्रो पुस्ताको नेताहरूलाई सत्ता, सम्पत्ति, सुरा र सुन्दरीमा यसरी लिप्त बनाइदियो कि उनीहरूलाई ती चीजहरू पार्टीभन्दा माथि लागिरह्यो । नेपाली जनताले हिँड्ने राजमार्गको चित्र बिचित्रकै छ, र पनि हिँड्न भने छोडेका छैनन् ।
दीपकराज जोशी
हुन त नेपाली राजनीतिमा हुने जो-कोहीको रहनसहन राजनीतिमा संलग्न हुनपूर्व र पश्चात् आकास-जमिनको फरक छ । जसबाट अछुतो रहने कुरा कुनै पनि नेपाली नेताका लागि असम्भवप्रायः जस्तो लाग्छ होला । त्यसको हावाबाट नेपाली काङ्ग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि अछुतो रहन सक्नुभएन । पहिलोपटक गृहमन्त्री हुँदा पुल्चोक मन्त्रीनिवासमा ‘खुकुरी रम’बाट शुरु भएको शेरबहादुर देउवाको बिलासी यात्रा आज कहाँ पुग्यो भन्ने कुरा त जनतासामु नै छ । नेपाली काङ्ग्रेसको राजनीति गर्दै गर्दा कुवेर शर्मा जस्ता सपन्न व्यक्तिले किनिदिएको पाइन्ट र कमिज लगाएर बिपी कोइरालाको समाजवाद ल्याउन होमिएका देउवा सामान्य जीवनशैलीबाट सामन्ती र विलासितासँग कसरी होमिए ? सायद फर्केर हेर्दा देउवा आफैंलाई पनि अचम्म लाग्छ होला । पुँजीवादको उर्लंदो बहावले उनीसँग हिँड्ने साथीहरू र उनले बोकेको सिद्धान्तलाई यसरी बगाएर लग्यो कि उनले फर्केर हेर्न नै भ्याएनन् । बुबा प्रसाद देउवा ‘तमिल्दार’ र आमा द्रोपदीदेवी देउवाका कोखबाट वि.सं. २००४ जेठ ३० गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिए शेरबहादुर देउवा । शेरबहादुर देउवा उनका ६ दाजुभाइ र पाँच बहिनीमध्ये सबै भन्दा जेठा सन्तान हुन् ।
२०५२ साल माघ २२ गते तत्कालीन संयुक्त जनमोर्चाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बुझाएको ४०बुँदे ज्ञापनपत्रदेखि १२ बुँदे सहमतिसम्म उनले र उनका मतियारहरूले सत्ताको लागि गरेका सहमतिका विभिन्न बुँदाले नेपाली जनतालाई पानीको प्रत्येक बुँदको लागि तड्पिने बनायो । हिजो आफ्नो कपडा आफैले किन्न सक्ने हैसियत नभएका देउवा काकाले साँच्चै धनमतिको साथ पाएर यहाँसम्मको यात्रा तय गरेका हुन् त ? हुन् भने पनि त्यो राम्रो मानिँदैन । किनभने, बुढापाकाको भनाइ छ ‘आँसु, मासु र सासुबाट आएको धनले एक दिन पिरोल्छ ।’ एक दिन उनको कारण बगेको जनताको आँसु, उनले बेचेको नेपालआमाको मासु र सासुको धनको हिसाब विष्णु पञ्चायतमा अवश्य होला । भएन भने पनि यो कलियुग हो यही युगमा परिणति देखिन्छ ।
नेपालका लागि तत्कालिन अमेरिकी राजदूत जुलाया चाङ ब्लकको अनुकम्पाले देउवाको जीवनमा आरजु राणाको आगमन भयो । त्यसपछि पद पैसा र पावरको उन्मत्तता यसरी बढ्दै गयो कि पछाडि फर्केर हेर्नुपर्ने परिस्थिति नै आएन । भनिन्छ– आरजुको आगमनपछि आफ्नो आदेश पालनकर्ता जसले हजुरी–गजुरी गर्छ त्यसले मात्र बूढानीलकण्ठ दरबारमा प्रवेश गर्न पाउने र आरजुलाई रिझाउन नसक्नेलाई काङ्ग्रेससमेत नमान्ने प्रवृत्तिको शुरुवात भयो । प्रहरीप्रमुख बनाउने बेलामा बरियता क्रम अनुसार पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई छाडेर तेस्रो बरियतामा रहेका जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउनुमा पनि आरजुको हात थियो भनिन्छ । बैना लिएर राजनैतिक नियुक्ति दिने चलन पनि आरजु राणाको पालाबाट शुरु भएको भन्ने हल्ला त नेपाली राजनीतिमा नौलो होइन ।
१० औँला खियाउँदै जीवन गुजारा गर्ने नेपाली जनताको हातगोडा र खियाउने औँला पनि माओवादी जनयुद्धका कारणले काटिए । जसले गर्दा धेरै नेपाली जनताले ‘राजनीति’ भन्ने शब्दसँग नै घृणा गर्न बाध्य भए । तर त्यही राजनीतिले यता देउवाको औँलाहरूमा भने बिस्तारै–बिस्तारै भाग्य बलियो बनाउने औँठीहरू थपिदियो । फेरि उनले चुनावको बेला यस्तो माहोल सिर्जना गरिदिए कि उनकै कारणले आवश्यकबिना भएको गृहयुद्धको सिकार बनेकाहरूले बाँकी रहेको एउटा खुट्टाले मतदान केन्द्र जान घन्टौँ लगाएर हिँडेर बाँकी औँलाले तिनकै पक्षमा मतदान गरे । जसलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताको हातले हँसिया–हथौडामा भोट हाल्न बाध्य बनाइयो । के ती मान्छे भित्रबाट नै खुसी थिए होलान् त आफ्नै हात काट्नेलाई मत दिन ? सोचनीय कुरा छ ।
नेपाल र नेपालीको भाग्य कोर्न पटक–पटक प्रधानमन्त्री भएका देउवा भने आफ्नो भाग्यको रेखा कोरिएको छ छैन भनेर हेर्न ज्योतिषीसँग नै ब्यस्त रहे । थोत्रो लुगा लगाएर च्यात्तिएको झोलामा करोडौँको समृद्धिको सपना बोकेर हिँडेका नेपालीहरूको सपनालाई देउवा र देउवाजस्ता राजनीतिज्ञहरूले विगत ३ दशकदेखि पटक–पटक हमला गरे, तर जनता चुँ नगरी बसिरहेका छन् । थाहा छैन यो मौनता कहिलेसम्म र केका लागि हो ! उनको राजनैतिक यात्रा बडो बिचित्रको छ । ६ पटक देशको प्रधानमन्त्री बनेका देउवाको समाजको समृद्धिसँग कुनै नाता नै छैन । आफ्नै पार्टी फुटाउनेदेखि प्रजातन्त्रलाई राजदरबारमा बुझाउनेसम्मको काम उनकै पालामा भएको छ ।
उनका कारणले भएका यी र यस्ता यावत कुराहरूका बाबजुद कुनैबेला आफ्नै परिवारको जीवन अन्त्य गर्नेसँग सहयात्रा गरेर हिँड्ने वातावरण सृजना गर्ने सक्ने देउवाको खुबीलाई पनि नकार्न सकिँदैन । १ सय ४ वर्ष शासन गरेको राणाशासन हटाउन लडेको काङ्ग्रेसले आफ्नो सिद्धान्तविपरीत राजसंस्थालाई हटाए पनि राणा शासनको आभास अहिले पनि हुन्छ ।
हिन्दीमा एउटा भनाइ छ– ‘भगवान् जब देता है तो छप्पर फाड के देता है’ ! ठ्याकै त्यस्तै भयो शेरबहादुर देउवालाई । पोइल गएकी श्रीमतीलाई घर फर्काएझैँ गिरिजाप्रसाद कोइरालाले स-सम्मान काङ्ग्रेसमा फिर्ता ल्याएको ७ वर्ष नपुग्दै काङ्ग्रेसकै बागडोर सम्हाल्न सफल भए । शैलजा आचार्य, सुशील कोइराला, खुमबहादुर खड्का, गोविन्दराज जोशी जस्ता पार्टीको लागि जीवन दिने पार्टीका खम्बाहरूलाई विस्थापित गर्न पनि देउवा पछि परेनन् । बीपी कोइरालाको दोषी चस्माले देख्न नसकेका दोषहरूले दोश्रो पुस्ताको नेताहरूलाई सत्ता, सम्पत्ति, सुरा र सुन्दरीमा यसरी लिप्त बनाइदियो कि उनीहरूलाई ती चीजहरू पार्टीभन्दा माथि लागिरह्यो । नेपाली जनताले हिँड्ने राजमार्गको चित्र बिचित्रकै छ, र पनि हिँड्न भने छोडेका छैनन् ।
झण्डै ६० हजार ऋण जनताको थाप्लोमा बोक्न बाध्य बनाएका नेताको जीवनशैली भने विलासिताले भरिपूर्ण छ । हुन त जनताका छोराछोरीलाई खाडी पठाएर आफ्ना छोराछोरीलाई विश्वका महँगा विश्वविद्यालयमा पढाउने, देशका आमाहरूले एकसरो फरियाको लागि संघर्ष गरिरहँदा देशको ढुकुटी रित्याएर प्रियालाई साडी किनिदिनेहरूले गरेको शासनबाट योभन्दा बढी के नै अपेक्षा गर्न सकिन्छ र ?
यो देशमा काण्डहरू भइरहन्छन् । ती काण्डहरू पनि नेतृत्व तहमा बस्नेहरूबाट धेरै हुन्छ भन्ने कुराको गतिलो उदाहरण देउवा आफैँ हुन् । बैंकक काण्ड, सुरा र सुन्दरी काण्ड, पजेरो काण्ड, सुत्केरी काण्ड, जम्बो मन्त्रिमण्डल काण्ड, सांसद खरिदबिक्री काण्ड, काङ्ग्रेस फुटाउने काण्ड, सबै लगेर दरबारमा बुझाउने अनि बाहिर आएर गाली गर्ने काण्ड, माओवादी जन्माउने, अन्माउने, टाउकोको मुल्य तोक्ने अनि पछि तिनैलाई बोक्ने, तिनकै पछाडि झुक्ने आदि जस्ता उनका पालामा भएका काण्डहरू हुन् ।
त्यस्तै, रातारात राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर २० प्रतिशतमै दल विभाजन गर्न सक्नेगरी १ भदौ ०७८ मा देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशकै कारण एमाले र जसपा विभाजन भएको कुरा जनतासामु सर्वविदितै छ । बहुदलीय व्यवस्थाको इतिहासमा उनी मात्र एउटा यस्ता पात्र हुन् जसलाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गऱ्यो। सायद नेपालको इतिहासमा यो नै पहिलो र अन्तिम कदम हुनेछ ।
यसैगरी तत्कालिन नेकपा (माओवादी)को सशस्त्र विद्रोह दमनका लागि धेरै व्यक्तिलाई अनाहकमा मारेको, यातना दिएको र बेपत्ता बनाएको अभियोगसमेत देउवालाई लागेको छ । माओवादी नेताहरूले अझ आफूहरूको टाउकोको मूल्य तोकेको विषय कैयौँ पटक भाषणको मसला बनाए । र, पनि आज तिनकै सहयात्राको अबिरजात्रामा नेपाली जनताले सामेल भइदिनु परेको छ । अतः राजनीतिमा विकृति र विचलनको अर्को नाम शेरबहादुर हुन् भन्दा फरक नपर्ला ।
उनका पालामा भएका असंख्य लापरबाही मध्येका केहिलाई मात्रै सम्झने हो भने पनि लामो सूचि तयार हुन्छ । राजनीतिक दलसम्बन्धी अध्यादेश तयार गर्नु, उपसभामुख चयनमा बेवास्ता गर्नु, बजेट तयार हुँदाका बखतमा आफू र आफ्नाको हित मात्रै हाबी हुनु, सरकारी नियुक्तिमा जालझेल गर्नु, गैरसांसदलाई मन्त्री बनाउनु, चौधरी समूहलाई मात्रै प्रश्रय दिनु, भारतको विशेषदूतमा श्रीमती आरजु नियुक्त गर्ने दुष्प्रयास गरिनु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमणबाट काठमाडौंसम्म ल्याउने कुरामा चुक्नु, कूटनीतिक ज्ञान नभएको व्यक्तिलाई राजदूतमा नियुक्ति दिनु, गभर्नरलाई अनाहकमा हटाउन अर्थमन्त्रीलाई साथ दिनु, राष्ट्रिय योजना आयोगमा श्रीमती आरजुका व्यावसायिक साझेदारलाई नियुक्त गर्नु, चीनसँगको दूरी बिस्तारै बढाउनु, स्वतन्त्र तिब्बत प्रकरणमा मुछिएका सांसदलाई मन्त्री बनाउनु, भारतसँग सम्बन्ध सुधार गर्न नसक्नु, आवश्यकताभन्दा बढी अमेरिकासँग नजिक हुनु, संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रकरण, नागरिकतासम्बन्धी विधेयक प्रकरण, अन्तरप्रदेश परिषद् बैठक नराख्नु, हतियार खरिद प्रकरण, फौजदारी मुद्दामा मुछिएका व्यक्तिको मुद्दा फिर्ताको प्रयास हुनु, छोरा जयवीरको कम्पनीलाई फाइदा पुग्नेगरी बजेटमा करको दर हेरफेर गर्नु, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व विभाग, सम्पत्ति शुद्धीकरण विभाग आफ्नो मातहतमा कायम राख्नु, २० प्रतिशतले दल विभाजन गर्ने अध्यादेश पारित गर्नु, कोरोनाको महामारीमा जनतालाई राहत दिनुपर्नेमा उल्टो ४ लाख खोप गायब पारिनु, औषधि खरिदमा घोटाला हुनु, पूरक बजेटमा नीतिगत भ्रष्टाचार गर्नु र कालो धनलाई सेतो बनाउने काम गर्नु, न्याय सम्पादनमा हस्तक्षेप गरिनु प्रधानन्यायाधीशलाई महाअभियोग लगाइनु, वरियताक्रम मिचेर आइजिपी नियुक्ति गरिनु साथै करोडौँ लेनदेन हुनु, बजेट निर्माणमा बिचौलिया हाबी हुनु, नेपाल प्रहरीको हातहतियार खरिद गर्ने क्रममा एक अर्बको कमिसन डिल हुनु आदि जस्ता थुप्रै प्रकरण हुनुले पनि देउवाको कार्यकाल कस्तो बित्यो भन्ने कुरा छर्लङ्ग हुन्छ ।
नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न लागेको र पशुपति धर्मशालामा होटल र व्यापारिक प्रतिष्ठान सञ्चालन गरेको कुरा पनि जनतासामु प्रष्ट नै छ । जसमा बतास समूहसँग पुर्वप्रधानमन्त्री पत्नी आरजु राणा देउवाको मिलेमतो रहेको कुरा पनि जगजाहेरै छ । महिलाको हकहितका लागि बोल्नको लागि विपन्न महिलाको कोटा पूर्तिका लागि जुद्धशम्शेरकी नातिनी आरजु राणा देउवालाई समानुपातिमा ल्याउन पनि देउवा पछिपरेनन् ।
प्रधानमन्त्रीको छोराले व्यापार गर्न हुँदैन भन्ने होइन तर ९० प्रतिशतसम्म करछुट गराएर प्रधानमन्त्रीका छोरा जयवीर सिंह देउवाको कम्पनी ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले सेनेटरी प्याडको आयात गर्दा पनि अरू नेपाली ब्यापारीहरूले चुप लागेर बसे । प्रधानमन्त्रीको छोराले त विद्यालय, क्याम्पसलाई गुणस्तरीय बनाउँदै लैजाने र साथै उद्योगधन्दा खोलेर केही हदसम्म भएपनि नेपाली कामदारलाई रोजगारीको सिर्जना गराएर विदेशिने युवा जमातलाई रोक्नुपर्ने होइन र ?
छोरा जयवीरले तुरन्तै नाफा हुने व्यापारमा हात हाले पनि आमा आरजु राणाको भने शैक्षिक क्षेत्रमा ठूलो लगानी छ । बीपी कोइरालाको समाजवादमा शिक्षाको अवसरबाट वञ्चित भएका गरीब, बालश्रमिक, सडक बालबालिका, भाषिक कठिनाइ भएका, भौगोलिक, सामाजिक र सांस्कृतिक कारणले पिछडिएका तथा फरक क्षमता भएका बालबालिकाहरूलाई उनीहरूको आवश्यकता, क्षमता, चाहना, रुची र उमेरअनुसारको शैक्षिक वातावरण उपलब्धि गराइ शिक्षा दिनुपर्छ भन्ने कुरा भएपनि, यी कुरा सिद्धान्त र व्यवहारमा फरक पर्न आएको छ । सबैमा शिक्षाको पहुँच हुनुपर्छ भन्दै सिद्धान्तका नारा लगाउनेहरू नै आफ्नो शैक्षिक संस्थामा प्रत्येक नेपालीको वार्षिक प्रतिव्यक्ति आयबराबरको त मासिक शुल्क नै तिर्नुपर्ने गरि मासिक शुल्क निर्धारण गरिन्छ भने त्यसलाई नेपालीले कसरी लिने ? यसरी सदैव ‘हुँदाखाने’ वर्गका नाममा राजनीति गरेर ‘हुनेखाने’ वर्गको हितमा काम गर्नेहरूलाई पनि नेपाली जनताले कसरी पत्याइरहेछन् ? किनकि, एकाथरि मान्छे आज पनि स्थापित लोगोको पछाडि दौडेर आफ्ना छोराछोरीको भविष्य उज्वल बनाउने भागदौडमा छन् । समाजवादी शिक्षा सम्पन्न वर्गको पोल्टाबाट गरीब दुःखीको घरसम्म लगेर आफ्नै घरको मान्छेले चलाइएको व्यापार घाटा हुने काम शेरबहादुर देउवाले गर्दैनन् । किनकि यहाँ शिक्षा पनि वर्गका आधारमा ग्रहण गर्न सकिन्छ । उनलाई भोट मात्रै ‘हुँदाखाने’को चाहिन्छ, तर समान अवसर र समताको कुरा उठ्यो भने उनको दाँतबाट पसिना आउँछ ।
हुन त हरेक समाजमा तीन थरीका राजनैतिक खेलाडीहरू (निरन्तरतावादी, सुधारवादी र विघटनवादी) हुन्छन्, तर हाम्रो समाज विचित्रको छ । हाम्रो समाजमा चौथो थरी खेलाडी छन्, जसलाई अवसरवादी भनिन्छ । र, यहाँ उनीहरूको नै हालिमुहाली छ । उनीहरू केवल अवसरको खोजीमा छन् । उनीहरूलाई जे गर्दा फाइदा छ त्यही गर्छन् । त्यस्तो अवसर जसले निरन्तरता दिँदा फाइदा भए निरन्तरता, सुधारको नाममा फाइदा भए सुधार र विघटनले फाइदा हुने भए विघटन गरी देश लुटीरहन्छन् । यो अवसरवादी चिन्तनको मुख्य पात्र शेरबहादुर देउवा पनि हुन् ।