Uncategorizedसमाचार

खसीबोका बेचेर दसैंको जोहो

गिता गिरीले यसपालिको दसैँको लागी ७ वटा खसी तयार पारेकी छन् । उनलाई कोरोना भाइरसले गर्दा खसी बिक्दैन कि भन्ने चिन्ता थियो । तर, यसपालिको दसैँ अघि घरबाटै बिक्री भएकोमा उनी खुसी छिन् । ‘कोरोनाले गर्दा खसी बिक्दैन कि भन्ने चिन्ता थियो । दसैँको खर्च पनि जुट्छ कि जुट्दैन भन्ने लागेको बेला घरबाटै खसी बिक्री भयो’ गिरीले भनिन्,‘सहकारीबाट खसी बिक्री भयो । पहिला त व्यापारी आउथे । उनीहरुको आफ्नै मूल्य हुन्थ्यो ।’ दुई वर्ष अघिसम्म उनको घरमा एउटा पनि बाख्रा थिएन । जंगल नजिक बस्ती भए पनि व्यवसायीक रुपमा बाख्रा पालन बारे कुरै थाहा थिएन । तर, अहिले यता उनको जीवनमा बाख्राले धेरै परिवर्तन गरेको छ । हरेक वर्षको दसैँलाई लक्षित गरेर उनले खसी पाल्ने गर्छिन् । ‘राम्रो भयो भने त ६ महिनामा मासुको लागि तयार हुन्छ । नभए वर्ष दिनमा राम्रो मूल्यमा खसी बिक्री हुन्छ’उनले भनिन्,‘अहिले त तौल गरेर खसी बिक्री गर्दा मूल्य पनि राम्रै आउँछ ।’

व्यास ८ रिस्तीमा रहेको शुभदिप समाजिक उद्यमी महिला सहरकारी संस्थामा आवद्ध रहेकी उनले बाख्रा पालनको लागि सहुलियतमा कर्जा समेत लिएकी छन् । जसले गर्दा उनलाई बाख्राको लागि खोर, दाना, औषधी उपचारमा सहजता मिलेको छ । ‘सहकारी, समूहले गर्दा महिला किसानलाई सजिलो भएको छ’उनले भनिन्,‘दुई चार रुपैयाँको लागि अरुको दैलोमा पुगेर हात थाप्नु परेको छैन।’ यस वर्ष उक्त संस्था मार्फत झन्डै २६ लाखको खसीबोका बिक्री भएको संस्थाकी व्यवस्थापक संगीता पौडेलले जानकारी दिईन् । तनहँुमा झन्डै एक दर्जन सामाजिक उद्यमी महिला सहकारी संस्था छन् । यी सहकारीहरुले व्यवसायिक बाख्रा पालनको लागि किसानमा लगानी गरेका छन् ।

भीमादमा रहेको अतिप्रिय र माझकोट, घिरिङमा रहेको बेलभञ्याङ भगपतीपूर, सामाजिक उद्यमी महिला सहकारी संस्थाले यस वर्ष एक हजार भन्दा बढी खसी बोका बिक्री गरेका छन् । ‘कृषकहरुले उत्पादन गरेको खसीबोका सहकारीले बजारीकरण गरिदिउको छ। बजारमा चाहिने जती सबै खसी बोका हामीले दिन सक्छौँ। उत्पादन बढेको छ’ भिमादमा रहेको अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवीमोक्तान आले मगरले भनिन्,‘कोरोनाले गर्दा बजारमा खसी बोकाको माग घटेको छ । जसले गर्दा किसानले तयार पारेको सबै खसी बोकाले बजार नपाउने अवस्था छ । हेफर ईन्टरनेशनल नेपालले साना किसान सुदृढिकरण परियोजना सञ्चालन गरेपछि तनहँुका विभिन्न क्षेत्रमा बाख्राको व्यवसायिक पालन सुरु भएको थियो ।

यो परियोजनाले गर्दा महिला किसानहरु उत्पादन भएका छन् । समूह हुँदै सहकारीमा आवद्ध भएका महिला उद्यमीले बाख्राको व्यवसायिक पालन र बजारीकरण गर्दै आएको हेफर ईन्टरनेशनलका कार्यक्रम अधिकृत सन्त भट्टराईले बताए । ‘किसानले गत वर्ष भन्दा यस वर्ष खसी बोका उत्पादन धेरै गर्नु भएको छ । कोभिड–१९ ले बजारिकरणमा केही असहजता थपेको छ’उनले भने,‘तर पनि सहकारीको माध्यमबाट खसी बोकाको बजारिकरण रोकिएको छैन् ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button