दमौली खबर संवाददाता
तनहुँ चैत १९ गते
आगामी वैशाख १० गते हुने तनहुँ–१ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम दमौली स्थित जिल्ला समन्वय समितिको कार्यालयमा शनिबार स्थापना गरिएको हो । कार्यालयको जिल्ला न्यायधिशद्धय हरिचन्द्र ढुङ्गाना, कोमलप्रसाद आचार्य र जिल्ला समन्वय समितिको प्रमुख शान्तिरमण वाग्लेले सयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो अवसरमा न्यायधिस आचार्यले राजनीतिक दल, उम्मेदवार, कर्मचारी र उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयरहित बनाउन निर्वाचन आचारसंहिताको बुँदाका अक्षरशः पालना गर्न आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायहरु प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यालय सुरक्षाको लागि सात जना सुरक्षाकर्मी परिचालन गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रिक्त रहेको प्रतिनिधिसभा सदस्यका लागि यसै कार्यालयमा चैत २० गते उम्मेदवारी दर्ता हुनेछ । यसैगरी, चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिन्ह प्रदान गरिने तालिका आयोगको छ । तनहुँ–१ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा बनेपछि तनहँु–१ को प्रतिनिधी सभा सदस्य रिक्त भएको छ । उपनिर्वाचनमा भाग लिनको लागि आयोगमा २६ दल दर्ता भएको आयोगले जनाएको छ ।
उपनिर्वाचनमा १५२ मतदान केन्द्र
यहाँको उपनिर्वाचनको लागि मतदानस्थलका १५२ मतदान केन्द्र स्विकृत भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । एक मतदान स्थलमा बढीमा एक हजार मतदाता रहन सक्नेगरी मतदानस्थल तोकिएको उहाँले जानकारी दिनुभयो ।
मतदान केन्द्रमा लागि मतदान एक जना अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी परिचालन गरिने ढकालले जानकारी दिनुभयो । निर्वाचन प्रचारप्रसारका लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवारले २५ लाख रुपियाँ खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले प्रकाशन गरेको विवरण अनुसार मङ्सिरको चुनावको तुलनामा तनहुँ १ मा मतदाता घटेका छन् । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन् ।
मङ्सिरको भन्दा एक सय ८५ मतदाता घटेका छन् । पाँच सय २८ जनाको मृत्यु भएकोले मतदाता सङ्ख्या घटेको ढकालले जानकारी दिनुभयो ।